नारायणगढ-मुग्लिन सडकखण्ड : तुइनखोलाको पहिरो पन्छाउन दुई दिन लाग्ने, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

बुधबार, ८ असोज, २०८२
डिजिटल संस्करण

नारायणगढ-मुग्लिन सडकखण्डको तुइनखोलामा खसेको पहिरो पन्छाउन दुई दिन लाग्ने जनाइएको छ । मंगलबार दिउँसो ४:५५ बजे खसेको पहिरो आज बिहानबाट पन्छाउन थालिएको हो ।

डिभिजन सडक कार्यालय भरतपुरका अनुसार पहिरो पन्छाउन दुईवटा लोडर, एउटा एक्स्काभेटर र एउटा भ्याकुलोडर परिचालन गरिएको छ । दमौलीबाट अर्को एउटा एक्स्काभेटर मगाइएको छ । सडकको १६० मिटर भाग पहिरोले ढाकिएको छ । 

प्रयोग गर्न सकिने वैकल्पिक मार्ग 

डिभिजन सडक कार्यालय चितवनले  तुइनखोलामा पहिरोका कारण सवारी रोकिएपछि वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । कार्यालयले दिएको जानकारीअनुसार साना सवारी चितवनको जुटपानी, शक्तिखोर, मायाटार हुँदै धादिङको मलेखु निस्किन सकिनेछ । त्रिभुवन राजपथ हुँदै धादिङको नौबिसेबाट मकवानपुरको हेटौँडा निस्किन सकिनेछ ।

हेटौँडाबाट भैँसे, भीमफेदी, कुलेखाने, सिस्नेरी हुँदै दक्षिणकाली बाटो हलुका सवारीसाधन सञ्चालन गर्न सकिने कार्यालयले जनाएको छ । काठमाडौँतर्फ जाने ठुला सवारीसाधनका लागि पूर्वबाट कान्ति लोकपथ प्रयोग गरी हेटौँडा, गिंगन हुँदै भट्टेडाँडा हुँदै ललितपुरको सातदोबाटो निस्कन सकिने जनाइएको छ ।

सुझावित समाचार