कम प्रजनन दरले ओइसिडी (आर्थिक सहयोग र विकास संगठन देशहरूको एउटा मञ्च) का विकसित अर्थतन्त्रमा खतराको घण्टी बजाइरहेको छ, जहाँ औसत प्रतिमहिला १.५ जन्ममा गिरावट आएको छ । यो जनसंख्या घट्न नदिन आवश्यक प्रतिस्थापन दरभन्दा पनि निकै कम हो । जापानलाई प्रायः जोखिमहरूको उदाहरणका रूपमा उद्धृत गरिने गरिन्छ, जसमा ढिलो वृद्धि, तनावपूर्ण सार्वजनिक वित्त र गहिरो पुस्तागत विभाजन समावेश छ । तर, प्रतिमहिला १.२ जन्ममा, जापान अझै पनि दक्षिण कोरियाभन्दा राम्रै प्रजनन भएको देशमा पर्छ । दक्षिण कोरियाको जन्मदर विश्वमै सबैभन्दा कम अर्थात केवल ०.७५ मा झरेको छ ।
हालैका अध्ययनले शिक्षा, रोजगारी, आवास, बाल हुकाईको उच्च लागत र लैंगिक मान्यतामा दीर्घकालीन परिवर्तनलाई दक्षिण कोरियाको प्रजनन क्षमता पतनको मुख्य कारकको रूपमा पहिचान गरेको छ । युनबी सोङ नामक संस्थासँगको मेरो आफ्नै अनुसन्धानले यी धेरै निष्कर्षलाई पुष्टि गर्छ । महिलामा बढ्दो शैक्षिक प्राप्ति र श्रम–शक्ति सहभागिता, विवाहको परिवर्तनशील धारणासँगै प्रजनन क्षमता घटाउनमा विशेष रूपमा शक्तिशाली भूमिका खेल्ने अनुसन्धानले देखाएको छ ।
दक्षिण कोरियामा विवाहभन्दा बाहिर चार प्रतिशतभन्दा कम जन्म हुने भएकाले विवाह अनिवार्य रूपमा बच्चा जन्माउनका लागि एक पूर्वसर्त हो । विगत ३५ वर्षमा शिक्षित विवाहित जोडीमा प्रजनन दरमा थोरै परिवर्तन आएको छ । कलेज–शिक्षित महिलाले अझै पनि लगभग १.७ बच्चा जन्माएका छन् । परिवर्तन भएको कुरा के हो भने धेरै कम महिला विवाह गर्न चाहन्छन् । सन् १९९०–२०२० सम्म २५–४९ वर्ष उमेरका विवाहित महिला ९० प्रतिशत थिए । तर, अहिले ६९ प्रतिशतमा झरेको छ । विश्वविद्यालय तहका शिक्षित महिलामा विवाह दर अझ कम छ, यस अवधिमा ८१ प्रतिशतबाट घटेर ६१ प्रतिशतमा झरेको छ । विश्वविद्यालय डिग्री प्राप्त गर्ने महिला सन् १९९० मा १२ प्रतिशत रहेकामा अहिले ७२ प्रतिशत पुगेका छन् । यसले समग्र विवाह दरमा र प्रजनन क्षमतामा तीव्र गिरावटलाई दर्साउँछ ।
बच्चा जन्माउनु आफ्नो करिअर, स्वतन्त्रता र आर्थिक हितलाई तिलाञ्जली दिनुजस्तै भएकाले दक्षिण कोरियाली महिलाहरू बच्च जन्माउन चाहँदैनन्
यो प्रवृत्तिलाई उल्ट्याउने उपाय खोजिरहेकाहरूका लागि प्रश्न यो हो कि दक्षिण कोरियाली महिलामा बढ्दो शैक्षिक उपलब्धि किन कम विवाह दरसँग सम्बन्धित छ ? यसको जवाफ आंशिक रूपमा परम्परागत लैंगिक मान्यताको विरासतमा अन्तरनिहित छ । उदाहरणका लागि धेरै महिलाले आफ्ना पुरुष पार्टनरसँग समान वा उच्चस्तरको शिक्षा भएको अपेक्षा गर्छन् । विश्वविद्यालयबाट शिक्षित लगभग ८५ प्रतिशत महिलाले डिग्री भएका पुरुषसँग विवाह गर्छन् । महिलाको विश्वविद्यालय भर्ना पुरुषको भन्दा अगाडि बढिरहेका वेला उनीहरूको सम्भावित पतिहरूको समूह भने घटिरहेको छ ।
महिलाहरूलाई यो पनि थाहा छ कि यदि उनीहरूले विवाह गरे भने उनीहरू सम्भवतः धेरैजसो बेतलबी घरायसी श्रमका लागि जिम्मेवार हुनेछन् । १५ देखि ६४ वर्ष उमेरका दक्षिण कोरियाली महिलाले यस्तो काममा प्रतिदिन औसत २१५ मिनेट बिताउँछन्, जबकि पुरुषहरूले यो काममा केवल ४९ मिनेट खर्च गर्छन् । धेरै सन्तान जन्माउँदा महिलाहरूको घरायसी श्रमको मात्रा मात्र बढ्छ ।
यसैबिच, आमाहरूले आफ्नो करियर त्याग्न तीव्र सामाजिक दबाबको सामना गर्छन् । हालैको सर्वेक्षणअनुसार लगभग ६५ प्रतिशत दक्षिण कोरियाली विश्वास गर्छन् कि जब उनीहरूका आमा घरबाहिर काम गर्छन्, तब बच्चाहरूले पीडा भोग्छन् । यो दर संयुक्त राज्य अमेरिकामाभन्दा बढी (३१ प्रतिशत) हो । उच्च शिक्षित र करियर–उन्मुख महिलाहरूको लागि यी दबाबलाई उच्च अवसरमा परिणत गर्छन् । विशेषगरी, आफ्ना सम्भावित पार्टनर कम शिक्षित छन् वा उनीहरूको भन्दा खराब करियरको सम्भावना हुने अवस्थामा महिलाहरू उच्च अवसरको खोजीमा हुन्छन् ।
अनि दक्षिण कोरियामा पारिवारिक जीवन सुरु गर्ने धेरै जोडीहरूका लागि आर्थिक लागत पनि अत्यन्तै उच्च छ । सामाजिक मान्यताहरूले विवाह गर्नुअघि दम्पतीले घर किन्नुपर्छ भनेर निर्देशन दिन्छन् । तर, सियोल र अन्य महानगरीय क्षेत्रमा घरजग्गाको मूल्य बढ्दै जाँदा अभिभावकको सहयोग नभएका अधिकांश युवाका लागि घरको स्वामित्व प्राप्त गर्न असम्भव हुन्छ । र, उच्च विश्वविद्यालयमा भर्नाका लागि तीव्र प्रतिस्पर्धाको अर्थ सन्तानलाई सफलतापूर्वक स्थापित गर्न सामान्यतया उनीहरूको शिक्षामा ठुलो लगानी आवश्यक पर्दछ । सन् २००७ देखि ०२२ बिचमा सियोलमा ट्युसनमा घरायसी खर्च प्रतिवर्ष लगभग पाँच प्रतिशतले बढ्यो ।
संक्षेपमा भन्नुपर्दा दक्षिण कोरियाली महिलाका लागि बच्चा जन्माउनु भनेको प्रायः आफ्नो करियर, स्वतन्त्रता र आर्थिक हितलाई तिलाञ्जली दिनुजस्तै हो । तर, यो त्यस्तो हुनु आवश्यक छैन । लक्षित नीतिहरूको विस्तृत प्याकेजले दक्षिण कोरियाको प्रजनन दरलाई जापानको स्तर (प्रतिमहिला १.२ जन्म) मा पु¥याउन सक्ने हाम्रो संरचनात्मक विश्लेषणले सुझाएको छ ।यी नीतिले नवविवाहित जोडीका लागि सस्तो आवासमा पहुँच विस्तार र प्रारम्भिक बाल हेरचाहमा अनुदान दिएर र अभिभावकको बिदा बढाएर परिवार सुरु गर्ने प्रत्यक्ष लागत घटाउनुपर्छ । दक्षिण कोरियाको परिवार सम्बन्धित सहयोगमा सार्वजनिक खर्च ओइसिडीमा सबैभन्दा कम रहेकाले यी पहलको लागतलाई निषेधात्मक मान्नु हुँदैन ।
साथै, दक्षिण कोरियाले लैंगिक समानतालाई प्रवद्र्धन गर्ने सुधार पनि कार्यान्वयन गर्नुपर्छ । यसमा बाबुहरूलाई बाल हेरचाह र घरेलु श्रमको बोझ हलुका पार्न प्रोत्साहन स्थापना गर्ने, परिवारभित्र महिलाको मोलमोलाइ गर्ने शक्तिलाई बलियो बनाउने उपाय र ज्याला र पदोन्नतिमा भेदभाव हटाउन श्रमबजार सुधार समावेश छन् । कार्यस्थलको लचिलोपनमा पनि सुधार गर्नुपर्छ, ताकि आमाबाबुले करिअर र पारिवारिक जीवनबिच स्वस्थ सन्तुलन कायम गर्न सकून् ।
अन्तमा, दक्षिण कोरियाले आफ्नो कन्फ्युसियनवादी पारिवारिक परम्पराको बन्धन तोड्नुपर्छ । यस परम्पराले जोडीहरूलाई शारीरिक सम्पर्क गर्नुअघि विवाह गर्नैपर्ने आवश्यकता ठान्छ (बच्चा जन्माउनु त परको कुरा) । तसर्थ, विविध पारिवारिक संरचनाको बढ्दो सामाजिक र कानुनी स्वीकृतिले धेरै जोडीलाई बच्चा जन्माउन सहज बनाउन सक्छ । साथै, अन्य कदम चाल्न सकिन्छ । उदाहरणका लागि पुरुषहरूको श्रमशक्ति सहभागितालाई सीमित गर्न सकिन्छ वा बालबालिकाको शिक्षामा घरेलु लगानी घटाउन सकिन्छ । यो जोखिम कम गर्न दक्षिण कोरियाले आफ्नो शिक्षा प्रणालीको दक्षता सुधार गर्नुपर्छ र निरन्तर प्राविधिक प्रगतिमा ठुलो लगानी गर्नुपर्छ ।
दक्षिण कोरियाको प्रजनन संकटले आर्थिक अवरोध मात्र नभई सामाजिक मान्यता र महिलाको आवश्यकता र आकांक्षाबिचको बढ्दो खाडललाई पनि प्रतिबिम्बित गर्छ । यो खाडललाई कम गर्ने साहसी, समन्वित सुधारहरूले मात्र देशले प्रजनन क्षमतालाई त्यस्तो स्तरमा बढाउन सक्छ, जुन प्रतिस्थापनभन्दा कम भए पनि जनसांख्यिकीय पतनलाई रोक्न सक्छ ।
प्रोजेक्ट सिन्डिकेटबाट