- त्रिवि क्रिकेट मैदानमा बिहीबार युएईको भिसा आएको बताएका क्यान पदाधिकारीले राखेपका सदस्य सचिव टंकलाल घिसिङबाट नेपाली टोलीको बिदाइ गराएका थिए, तर क्रिकेट खेलाडीको शुक्रबारसम्म भिसा आएन
नेपाल क्रिकेट संघ (क्यान)ले युएईको भिसा उपलब्ध गराउन अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)सँग आग्रह गरेको छ । जेन–जीले गरेको प्रदर्शनका कारण नेपालको पछिल्लो घटनाक्रमपछि युएईले नेपालीलाई भिजिट भिसा दिन रोक लगाएपछि अहिले त्यसको असर क्रिकेट टोलीलाई पनि परेको हो ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीले अर्को साता युएईको सारजहाँमा वेस्ट इन्डिजविरुद्ध तीन वटा टी–२०आई खेल्दै छ । ‘अनलाइनबाट भिसा आवेदन दिन समस्या भएको सबैलाई थाहा छ । हामीले सबै भिसा प्रक्रिया पूरा गरिसक्यौँ । युएईको सरकार, त्यहाँको क्रिकेट बोर्ड र आइसिसीसँग समन्वय भइरहेको छ,’ क्यानका प्रवक्ता छुम्बी लामाले भने, ‘शुक्रबार बिहान जान सम्भव भएन । भिसा आउनेबित्तिकै क्रिकेट टोली युएई उड्नेछ ।’
यसअघि क्यानले बिहीबार खेलाडी तथा अफिसियलको भिसा आएको देखाउँदै टोलीलाई बिदाइसमेत गरेको थियो । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ र क्यानका सचिव पारस खड्काले संयुक्त रूपमा बिदाइ गरेको नेपाली टोली शुक्रबार युएई जाने तयारीमा थियो ।
प्रवक्ता लामाले सिरिज खेल्न समय बाँकी रहेकाले नेपालले युएईको भिसा पाउने आशा गरेका छन् । ‘हामीलाई भिसा आउने विश्वास छ,’ लामाले भने, ‘हामीसँग अझै ५–६ दिन बाँकी छ । यसमा आशावादी हौँ ।’