- तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङसँग मतभेद भएपछि ऊर्जामन्त्री दीपक खड्काले २० मंसिरमा विद्युत् प्राधिकरणमै कार्यकक्ष खोलेका थिए
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले गत मंसिरमा तत्कालीन मन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणमा स्थापना गरेको कार्यकक्ष बन्द गर्न लगाएका छन् । मन्त्री घिसिङले मंगलबार अध्यक्षका रूपमा रहेको उक्त कार्यकक्ष बन्द गरेर आन्तरिक प्रयोजनका लागि प्रयोग गर्न प्राधिकरणलाई निर्देशन दिएको छ । उनले मन्त्रालयको सचिव स्तरबाट निर्णय गराएर यस्तो निर्देशन दिएका हुन् । ‘प्रस्तुत विषयमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिका अध्यक्षज्यूको प्रयोजनमा रहेको कार्यकक्ष आवश्यक नभएको हुँदा प्राधिकरणले प्रयोग गर्नुहुन मिति ०८२/५/३१ को सचिवस्तरीय निर्णयअनुसार अनुरोध छ,’ पत्रमा भनिएको छ ।
प्राधिकरणको अध्यक्ष ऊर्जामन्त्री हुने व्यवस्था छ । घिसिङ प्राधिकरणको कार्यकारी निर्देशकमा कार्यरत रहेका वेला तत्कालीन मन्त्री दीपक खड्कासँग मतभेद थियो । उद्योगीबाट बक्यौता उठाउनेलगायतका विषयमा काम गर्दा खड्काले कुलमानलाई अवरोध गरेका थिए ।
मन्त्री खड्काले प्राधिकरणमा अनियमित तथा गैरकानुनी रूपमा हालीमुहाली गर्न खोजेका थिए । तर, तत्कालीन कार्यकारी निर्देशक घिसिङले त्यसो गर्न नदिएपछि खड्काले मंसिर २० गते प्राधिकरणमै कार्यकक्ष खोलेका थिए । प्राधिकरणको ४० वर्षको इतिहासमा प्राधिकरणमा मन्त्री अर्थात् अध्यक्षका लागि पहिलोपटक कार्यकक्ष खोलिएको थियो । मुख्यत: कुलमानलाई क्रस गर्न तत्कालीन मन्त्री खड्काले कार्यकक्ष स्थापना गरेका थिए । पछि उनले ११ चैतमा कुलमानलाई पदबाट बर्खास्त गरेर हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशक बनाएका थिए । अहिले मुलुकमा आएको राजनीतिक परिवर्तनसँगै घिसिङ ऊर्जामन्त्री बनेका छन् । त्यसपछि उनले उक्त कार्यकक्ष प्राधिरकणलाई नै प्रयोग गर्न पत्र पठाउन लगाएका हुन् ।