वीरगन्ज कारागारमा कैदीको मृत्यु प्रकरण, सात सदस्यीय छानबिन समिति गठन

बुधबार, २८ साउन, २०८२
डिजिटल संस्करण
वीरगन्ज कारागारमा कैदीको मृत्यु प्रकरण, सात सदस्यीय छानबिन समिति गठन

कैदी राहुल साहको मृत्युपछि प्रदर्शनमा उत्रिएका आफन्त

वीरगन्ज कारागारका कैदी राहुल साह तुराहाको उपचारका क्रममा मृत्यु भएको घटनामा सात सदस्यीय छानबिन समिति गठन भएको छ ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी बाबुलाल रेग्मीको संयोजकत्वमा गठित समितिमा प्रहरी, जनप्रतिनिधि, मानव अधिकारकर्मी, मेडिकल एसोसिएसनका प्रतिनिधि, पत्रकारलगायतलाई समावेश गरी बनाइएको छ । समितिलाई १५ दिनको समय अवधि दिइएको छ ।

कारागारमा हर्ट अट्याक भएर अस्पताल पुर्याइएका राहुलको उपचारका क्रममा मृत्यु भएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए । वीरगन्ज महानगरपालिका– २५ का साह कर्तव्यज्यान मुद्दामा पाँच वर्षदेखि वीरगन्ज कारागारमा कैद सजाय भुक्तानी गरिरहेको कारागार प्रशासनले जनाएको छ । मंगलबार बिहान १० बजे उपचारका क्रममा उनको नारायणी अस्पतालमा मृत्यु भएको थियो । प्रहरी र स्थानीय प्रशासनको लापरबाहीका कारण राहुलको मृत्यु भएको भन्दै आफन्तले अस्पतालअगाडिको सडकमा टायर बालेर प्रहरी–प्रशासनविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका थिए ।

प्रहरीले राहुललाई उपचारका लागि अस्पतालको आकस्मिक कक्षमा बिहान ८:३० बजे ल्याएको नारायणी अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहले बताए । अस्पतालमै आइसियूको व्यवस्थापन गरेर थप उपचार गर्नेक्रममा राहुलको मृत्यु भएको उनको भनाइ छ ।
 

सुझावित समाचार