रविलाई पत्रपत्रिका हेर्न पनि दिइँदो रहेनछ, पञ्चायतमा पनि यस्तो हुँदैन थियो : डा. भट्टराई

बिहिबार, २३ साउन, २०८२
डिजिटल संस्करण

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले रवि लामिछानेलाई सूचनाको हकबाट समेत वञ्चित राखिएको बताएका छन्।

बिहीबार जिल्ला कारागार भैरहवा पुगेर रास्वपा सभापति लामिछानेलाई भेटेपछि पत्रकारहरूसँग कुरा गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले यस्तो बताएका हुन्।

लामिछानेमाथि फैसला भइनसकेको र उनी न्यायिक हिरासतमा रहेको प्रस्ट पार्दै भट्टराईले भने, ‘पत्रपत्रिकाहरू ल्याएर हेर्न पनि दिइँदो रहेनछ। त्यो त हामी पञ्चायतको पालामा पनि पढ्ने गर्थ्याैँ । कमसेकम सूचनाबाट वञ्चित गर्नुहुँदैन थियो।’

लामिछाने राजनीतिक व्यक्ति भएको उल्लेख गर्दै भट्टराईले उनलाई जमानतमा बाहिरै रहेर मुद्दा लड्ने सुविधा दिनुपर्ने बताए। उनले भने, ‘जनताको प्रतिनिधिको रूपमा रहेको मान्छे भागेर पनि सुख पाउँदैन भन्ने कुरा अनुमान गरेर उनीहरूलाई जमानतमा बाहिरै रहेर मुद्दा फेस गर्ने व्यवस्था गर्नुपर्थ्याे।’
 

सुझावित समाचार