कोशीका पर्यटनमन्त्री मण्डलको घुस विवाद : मुख्यमन्त्रीले छानबिनमा मौनता साधेको आरोप

मंगलबार, १४ साउन, २०८२
डिजिटल संस्करण
कोशीका पर्यटनमन्त्री मण्डलको घुस विवाद : मुख्यमन्त्रीले छानबिनमा मौनता साधेको आरोप

सदानन्द मण्डल, मन्त्री

वन कार्यालयका कर्मचारी सरुवा गर्न क्युआर कोड पठाएर मन्त्री आफैँले घुस मागेको प्रकरण छानबिन गर्न कोशी प्रदेशका मुखयमन्त्री हिक्मतकुमार कार्कीले मौनता साधेको भन्दै विपक्षी सांसदहरूले आपत्ति जनाएका छन् । पर्यटन वन तथा वतावरणमन्त्री सदनान्द मण्डलले कर्मचारी सरुवा गर्न क्युआर कोड पठाएर घुस मागेको प्रकरण बाहिर आएपछि पनि छानबिन गर्न मुख्यमन्त्री कार्कीले चासो नदिएको विपक्षीको आरोप छ ।

मन्त्री मण्डलले सोलुखुम्बुमा कार्यरत वन कार्यालयका एक कर्मचारीलाई तराईमा सरुवा गराउन सचिवालयमा निजी सचिवको रूपमा काम गर्दै आएका सहयोगी अमृत मेहतामार्फत क्युआर कोड पठाएर घुस मागेको सार्वजनिक भएको थियो । मुख्यमन्त्री कार्यालयमा क्युआर कोडसहित उजुरी परेको थियो । तर, घटनाबारे अहिलेसम्म मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले छानबिनमा कुनै तदारुकता देखाएको छैन । 

कोशीमा कांग्रेस र एमालेको गठबन्धन सरकार छ । सरकारमा कांग्रेस संस्थापन पक्षका तीनजना मन्त्रीले भौतिक, कृषि, पर्यटन र स्वास्थ्य गरी चारवटा मन्त्रालय सम्हालिरहेका छन् । संस्थापन पक्षका भौतिक पूर्वाधारमन्त्री भूपेन्द्र राईले स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका छन् । इतरपक्ष शेखर कोइराला समूहले दुईजना मन्त्री मागे पनि नपाएपछि स्वास्थ्य मन्त्रालय भौतिकमन्त्री राईले नै सम्हालेका हुन् । एमालेले मुख्यमन्त्रीसहित सामाजिक, आर्थिक मामिला, आन्तरिक मामिला, ऊर्जा तथा खानेपानी मन्त्रालय र एकजना राज्यमन्त्री छन् । मन्त्रीलाई कारबाही गरे सत्ता संकटमा आउने भयले मुख्यमन्त्री कार्कीले प्रत्यक्ष छानबिनमा चासो नदेखाएको उनीमाथि आरोप लागेको छ । स्रोतका अनुसार मुख्यमन्त्री कार्कीले विवादमा आएका मन्त्री फिर्ता बोलाउन कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई आग्रह गरेका थिए । तर, नेता थापाले सभापति शेरबहादुर देउवाले अनुमति नदिएसम्म कोही पनि मन्त्री फिर्ता बोलाउन नसक्ने बताएपछि मुख्यमन्त्री कार्की चुपचाप छन् ।

११ साउनमा कोशी प्रदेश सभामा विशेष समय लिएर बोल्दै मन्त्री सदानन्द मण्डलले निजी स्वकीय बनेर काम गरिरहेका आफन्त मेहतालाई समेत चिन्दिनँ भन्दै आफू र आफ्नो सचिवालयले घुस माग्न क्युआर कोड नपठाएको र कसले पठायो भन्नेबारे पनि केही थाहा नभएको बताएका थिए । ‘मैले घुस मागेको भनेर कसले किन कसको क्युआर पठायो मलाई कुनै जानकारी छैन । मेरो कुनै गल्ती पनि छैन, मलाई नखाएको विष लाग्यो । प्रमाण ल्याए म सजाय भोग्न तयार छु,’ उनले भनेका थिए ।

क्युआर कोड पठाउने सचिवालयका सहयोगी मेहताले शैक्षिक योग्यता नपुगेपछि दाजु सन्तोष मेहताको नियुक्तिमा मन्त्रीको निजी सचिवको रूपमा काम गर्दै आएका थिए । घुस मागेको घटना सार्वजनिक भएपछि स्वकीयसचिव मेहता अहिले मन्त्रालयमा देखिएका छैनन् । मन्त्री मण्डलका आफन्त रहेका मेहताले एनएमबि बैंकले जारी गरेको क्युआर कोड सोलुखुम्बुका डिभिजन वन कार्यालयका प्रमुखलाई पठाएर घुस मागेका थिए ।

तर, विपक्षी दलका सांसदहरूले मन्त्री मण्डलले क्युआर कोड कसले र किन पठायो भन्नेबारे सम्बन्धित कर्मचारीसँग सोधपुछ गरेर वा बैंकमार्फत क्युआर कोड कसको हो भन्ने पत्ता लगाउन सकिने भए पनि बुझ्न चासो नदिएको र केही थाहा नभएको भनेर घुस मागेको कुरा आफैँले पुष्टि गरेकाले घटना छानबिन हुनुपर्ने माग गरेका छन् ।

सोमबार कोशी प्रदेश सभाको शून्य समयमा बोल्दै मुख्य विपक्षी दल माओवादी सांसद गणेश उप्रेतीले मन्त्री मण्डलले क्युआर कोडमार्फत घुस मागेको विषय बाहिर आइसक्दा पनि छानबिन नहुनु सरकारको लाचारी भएको बताए । ‘यत्रो प्रमाणसहित घटना बाहिर आइसक्दा पनि मुख्यमन्त्री छानबिन गर्नुको साटो आनन्द मानेर बसिरहनुभएको छ, यो लाचारीपन नभएर के हो त ?’ उनले प्रश्न गर्दै भने । सांसद उप्रेतीले घटनाबारे कांग्रेस संसदीय दल पनि गम्भीर नभएको आरोप लगाए । ‘कुनै पनि भ्रष्टाचारीले मैले भ्रष्टाचार गरेँ भनेर आफैँ सदन वा अदालतमा उभिएर स्विकारेको इतिहास छैन । मन्त्रीज्यूले शालीन ढंगले आफूले क्युआर कोड पठाएर भ्रष्टाचार नगरेको भन्नुभयो, तर घुमाउरो पाराले क्युआर कोड पठाएको स्वीकार गरेकाले भ्रष्टाचार भएको पुष्टि भयो । तर, पनि मन्त्रीले टालटुले जवाफ दिएर उम्कन खोज्नुभयो, प्रश्न उठिसकेपछि त्यसको गम्भीर अनुसन्धान हुनुपर्ने हो, तर गर्न सरकार तयार नै छैन,’ उनले भने ।

पर्यटन विकासको बहानामा आफ्नो निर्वाचन क्षेत्रमा मनखुसी बजेट 
मन्त्री मण्डलले पर्यटन प्रवद्र्धनको नाममा चिहानदेखि मठमन्दिर अनि सामुदायिक वनसम्मलाई जथाभावी आफ्नो निर्वाचन क्षेत्रमा बजेट विनियोजन गराएको खुलेपछि उनको आलोचना भइरहेको छ । चालू आर्थिक वर्ष ०८२/८३ का मन्त्री मण्डलले ४० वटा चिहान, मठमन्दिर, गुम्बा बनाउन बजेट बाँडेको खुलेपछि सांसदहरूले प्रदेश सभामा हंगामा गरेका थिए । उनले आफ्नो मन्त्रालयको क्षेत्राधिकारभन्दा बाहिर गएर आफ्नो निर्वाचन क्षेत्रको क्याम्पस र गाउँको सौन्दर्यीकरणका लागि बजेट विनियोजन गराएका छन् । उनले पर्यटन विकास आयोजना मोरङमार्फत खर्च गर्ने गरी आफ्नो ठाउँको कोशी गाउँपालिकामा मात्र ३० वटा योजना थुपारेका छन् । मन्त्री मण्डलले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने इनरुवा र बराह क्षेत्र नगरपालिकामा पनि योजना मनखुसी योजना हालेका छन् ।

सुझावित समाचार