दार्माबाट साढे तीन करोडको दुध र खसीबोका निर्यात

सोमबार, ३० असार, २०८२
डिजिटल संस्करण

सल्यानको दार्मा गाउँपालिकाबाट एक वर्षको अवधिमा झन्डै साढे तीन करोडको दुध र खसीबोका निर्यात भएको छ। गाउँपालिकाका अनुसार चालू आर्थिक वर्ष ०८१/८२ मा तीन करोड ४४ लाख ३७ हजार ८८४ रुपैयाँबराबरको दुध र खसीबोका निर्यात भएको हो।

दुई लाख ४९ हजार ६१० लिटर दुध बिक्रीबाट एक करोड ३७ लाख ५० हजार र ३९ हजार ७४२ किलो खसीबोकाबाट दुई करोड ६ लाख ८७ हजार ८८४ रुपैयाँ किसानले हात पारेका गाउँपालिकाले जनाएको छ। उत्पादनमा आधारित अनुदान कार्यक्रम सञ्चालन गरेपछि पशुपालनतर्फ किसानको आकर्षण बढ्दै गएको गाउँपालिकाको पशु सेवा शाखा प्रमुख डा. दीपा पौडेलले बताइन्।

उनका अनुसार दुधमा कर्णाली प्रदेश सरकारले दिँदै आएको प्रतिलिटर ५ रुपैयाँ अनुदानमा पालिकाले थप ३ रुपैयाँ र खसीबोकामा प्रतिकिलो ५० रुपैयाँ अनुदान प्रदान गरिएको उनले जानकारी दिइन्। गाउँपालिकामा दर्ता भएका सहकारी तथा डेरीहरूमा दुध र खसीबोका बिक्री गर्दा मात्र अनुदान पाइने पौडेलको भनाइ छ।

कृषि नै किसानको समृद्धिको आधार भएकाले पालिकाले किसानलक्षित कार्यक्रम सञ्चालन गर्दै आइरहेको गाउँपालिका अध्यक्ष निमबहादुर केसीले बताए। किसानको आर्थिक सवलीकरणविना विकास सम्भव नहुने उनको भनाइ छ। आगामी आर्थिक वर्षदेखि अदुवा र बेसारमा पनि प्रोत्साहन अनुदानको व्यवस्था गरिएको अध्यक्ष केसीले जानकारी दिए।
 

सुझावित समाचार