जीविकोपार्जनमा टेवा पुर्‍याउन कमला नदीमा छोडियो माछाका भुरा

शुक्रबार, २७ असार, २०८२
डिजिटल संस्करण

स्थानीयको जीविकोपार्जनमा टेवा पुर्याउने उद्देश्यले बिहीबार सिराहाको पश्चिमवर्ती कर्जन्हा नगरपालिका– १, उत्तरवाहिनीस्थित कमला नदीमा माछाका भुरा छोडिएको छ । कर्जन्हा– १ जनप्रतिनिधि, मत्स्य विकास केन्द्रका प्रतिनिधि र स्थानीय बासिन्दाको उपस्थितिमा रहु र नैनी प्रजातिको करिब दुई लाखवटा माछाका भुरा छोडिएको कर्जन्हा– १ का वडाध्यक्ष फणीन्द्रप्रसाद पोखरेलले जानकारी दिए। उनका अनुसार वडा कार्यालयको सहजीकरण र समन्वय तथा लहानस्थित मत्स्य विकास केन्द्रको सहयोगमा माछाका भुरा छोडिएको हो । 

‘सिराहा, धनुषा र उदयपुरको संगम पवित्र धार्मिकस्थल उत्तरवाहिनीमा छोडिएको माछा हुर्किएपछि माछा मारेर जीविका चलाउँदै आएका स्थानीयलाई टेवा पुग्ने अपेक्षा गरिएको छ,’  उनले भने, ‘कमला नदीमा प्राकृतिक रूपमा रैथाने प्रजातिका माछा पनि पाइन्छन्, नदीको पानीमा हुर्किन सक्ने उन्नत प्रजातिको भुरा हालिएकाले नदीमा आश्रित बासिन्दाका लागि राम्रो हुन्छ ।’

‘सार्वजनिक जलाशयहरूमा जैविक विविधता संरक्षणका लागि माछाको भुरा छोड्ने कार्यक्रम’अन्तर्गत कमला नदीमा भुरा छोडिएको केन्द्रकी प्रमुख प्रियंका यादवले बताइन् । उनका अनुसार जैविक जलाशयहरूको संरक्षणसहित स्थानीयको जीविकामा सहयोग पुर्याउन सरकारी दररेटमा प्रतिगोटा ७५ पैसाको दरले डेढ लाख रुपैयाँ मूल्यको भुरा छोडिएको हो । ‘चालू आर्थिक वर्ष ०८१/८२ को कार्यक्रमअन्तर्गत कमला नदीको उत्तरवाहिनीमा भुरा छोडिएको हो,’ उनले भनिन्, ‘आगामी आवमा पनि कार्यक्रम पर्याे भने अन्य सार्वजनिक जलाशयमा पनि छोड्छाैँ ।’

सुझावित समाचार