कर्णाली विकास बैंकको साढे दुई अर्ब घोटालामा एमाले केन्द्रीय सदस्य मिश्रा पक्राउ

नक्कली ऋणी र ब्यालेन्ससिटसमेत बनाएर निक्षेप रकम घोटाला भएको सिआइबीको निष्कर्ष

बिहिबार, १९ असार, २०८२
डिजिटल संस्करण

कर्णाली विकास बैंकको करिब साढे दुई अर्ब रुपैयाँ घोटाला प्रकरणमा एमाले केन्द्रीय सदस्य पशुपतिदयाल मिश्रा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनलाई बुधबार नेपालगन्जको धम्बोजी चोकबाट पक्राउ गरेको हो ।

मिश्रा बैंकको सञ्चालक हुँदा हिनामिनामा संलग्न रहेको पाइएपछि पक्राउ गरिएको सिआइबीका प्रवक्ता एसपी युवराज खड्काले बताए । बैंकका संस्थापक सञ्चालक रहेका उनी ०६६ देखि ०७५ सम्म अध्यक्ष थिए । त्यतिवेला बैंकले नियमविपरीत कर्जा प्रवाह गरेको सिआइबीको अनुसन्धानमा खुलेको छ । सिआइबीले बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय र वित्त विभागका प्रमुख देवप्रकाशसिंह ठकुरीलाई थुनामा राखी अनुसन्धान गरिरहेको छ । 

‘कर्णाली विकास बैंकका अर्का अध्यक्ष पक्राउ परेका छन् । उनी ०६६ देखि ०७५ सम्म बैंकको अध्यक्ष भएको देखिन्छ । बैंकको रकम हिनामिनामा उनको मुख्य भूमिका देखिएकाले पक्राउ गरिएको हो । घटना सम्बन्धमा अनुसन्धान हुँदै छ,’ सिआइबीका प्रवक्ता एसपी खड्काले भने ।

सिआइबीको अनुसन्धानअनुसार ०७० देखि नै बैंकमा हिनामिना सुरु भएको देखिन्छ । जस आधारमा मिश्रा पनि अनुसन्धानको दायरामा आएका हुन् । उनी ०७९ को स्थानीय तह निर्वाचनमा एमालेबाट नेपालगन्ज उपमहानगरपालिकाको मेयर पदमा उम्मेदवार बनेकोमा कांग्रेस उम्मेदवार प्रशान्त विष्टसँग पराजित भएका थिए । उनी बाँकेका पूर्वजिविस सभापतिसमेत हुन् । बैंक हिनामिनाको पैसा उनले राजनीतिमा समेत खर्च गरेको सूचना सिआइबीको छ । 

प्रहरीले बैंकका संस्थापक अध्यक्ष रायलाई गत १७ जेठमा भारतको दिल्लीबाट पक्राउ गरी नेपाल ल्याएको थियो । कर्णाली विकास बैंकमा राष्ट्र बैंकले हस्तक्षेप गर्ने सूचना पाएपछि उनी फरार भएका थिए । राष्ट्र बैंकले गत ११ पुसमा कर्णाली विकास बैंकलाई संकटग्रस्त घोषणा गरेको थियो । राय कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष तथा कार्यकारी अधिकृत हुन् । सञ्चालक समितिमा समेत पटक–पटक रहेका उनले बैंकको दुई अर्ब ५९ करोड रुपैयाँ घोटाला गरेका थिए । घोटालामा पक्राउ परेका ठकुरी सुरुदेखि नै संलग्न रहेको सिआइबीको दाबी छ ।

बैंकको कुल निक्षेप संकलन चार अर्ब ९० करोड रहेको देखिएको छ । नक्कली ऋणी खडा गर्ने मात्र नभई नक्कली ब्यालेन्ससिटसमेत बनाएर निक्षेप रकम घोटाला भएको सिआइबीको अनुसन्धानबाट देखिएको छ । 

बैंकको स्थापना ०७० मा भएको थियो । त्यसलगत्तै बैंकमा जम्मा भएको निक्षेप अपचलन हुँदै आएको थियो । रकम हिनामिनामा पूर्वसिइओ दिनेशकुमार रावत, वर्तमान सिइओ नीरजविक्रम शाह पनि संलग्न रहेको देखिएको छ । रकम हिनामिनामा बैंकमा अन्य कर्मचारीको पनि संलग्नता देखिए पनि मुख्य योजनाकार राय नै रहेको सिआइबीको भनाइ छ । 

मुख्य योजनाकार तथा संस्थापक अध्यक्ष राय पनि एमाले नेता हुन् । उनी ०७९ को चुनावमा सल्यानबाट प्रतिनिधिसभा सदस्यका लागि चुनाव लडेका थिए । उनी एकीकृत समाजवादीका प्रकाश ज्वालासँग चुनाव हारेका थिए । बैंकलाई समस्याग्रस्त घोषणा भएपछि उनी भारतको लखनउमा फ्ल्याट किनेर बसेका थिए । उनले त्यहाँ भारतीय आधार कार्डसमेत बनाइसकेका थिए । बैंक ठगीको पैसा उनले पनि चुनावमा खर्च गरेका थिए । राजनीतिक आडमै यो बैंकमा ठुलो घोटाला भएको आशंका गरिएको छ । 

राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेलगत्तै मातहतको उपनिर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय समिति बैंक पठाएको थियो । समितिको सदस्यमा वित्तीय संस्था सुपरिवेक्षण विभाग उपनिर्देशक विष्णुकुमार विश्वकर्मा र कानुन महाशाखा उपनिर्देशक जुगलकिशोर कुसवाह छन् । उनीहरूले गरेको अध्ययनपछि बैंकमा दुई अर्ब ५९ करोड रुपैयाँभन्दा धेरै रकम अपचलन भएको खुलेको थियो ।

राष्ट्र बैंकको सुपरिवेक्षणमाथि गम्भीर प्रश्न 
कर्णाली विकास बैंकमा ०७० देखि नै हिनामिना हुँदै आएको सिआइबीको अनुसन्धानमा खुलेको छ । तर, १० वर्षसम्म पनि केन्द्रीय बैंकले सुपरिवेक्षणमा सो तथ्य पत्ता लगाउन नसक्नुमा प्रश्न उठेको छ । बैंकको वित्तीय अवस्था राम्रो रहेको भन्दै राष्ट्र बैंकले सुपरिवेक्षण प्रतिवेदन दिएकै वेला एक्कासि सर्वसाधारणको निक्षेप नै फिर्ता गर्न नसक्ने अवस्थामा संस्था पुगेको थियो । राष्ट्र बैंकले स्थलगत सुपरिवेक्षण गरी तयार गरेको प्रतिवेदनमा आर्थिक वर्ष ०८०/८१ सम्म सो बैंकमा सामान्य कमजोरीबाहेक ‘राम्रो अवस्था’ रहेको उल्लेख गरेको थियो । पछि बैंकले सर्वसाधारणको निक्षेप नै फिर्ता गर्न नसक्ने अवस्था आएपछि मात्र राष्ट्र बैंकले हस्तक्षेप गरेको हो । 

बैंकमा एक लाख एक हजार सर्वसाधारणको चार अर्ब ९० करोड बचत थियो । त्यसमध्ये अधिकांश रकम सञ्चालकले नै दुरुपयोग गरेका हुन् । सर्वसाधारणलाई निक्षेप पनि फिर्ता दिन नसकेको र खराब कर्जा ४० प्रतिशत पुगेपछि मात्र राष्ट्र बैंकले हस्तक्षेप गरेको थियो । यसअघिका प्रतिवेदनमा कर्जा असुलीमा ध्यान दिनुपर्नेलगायत सामान्य कमजोरी मात्र सुपरिवेक्षकले औँल्याएका थिए । सोही कारण बैंकको सेयरसमेत उच्च मूल्यमा पुगेको थियो । सिआइबीले पछिल्लोपटक स्थलगत सुपरिवेक्षणमा खटिएका राष्ट्र बैंकका कर्मचारीलाई पनि सोधपुछमा बोलाएको छ । 

सिआइबीका एसएसपी होबिन्द्र बोगटी सहकारीकै शैलीमा सो बैंकमा हिनामिना भएको बताउँछन् । संस्थापक अध्यक्ष राय पहिला काठमाडौंमा सहकारीका सञ्चालक थिए । पछि नेपालगन्ज गएर उनले बैंक खोले । बैंक पनि सहकारीकै शैलीमा चलाएर पैसा आफ्ना निजी व्यवसायमा खन्याए । व्यवसाय धराशयी भएसँगै बैंक पनि समस्यामा परेको हो । सो बैंकको घोटालामा अन्य एक दर्जन फरार छन् । सिआइबीले सञ्चालकउपर सम्पत्ति शुद्धीकरणको कसुरमा पनि अनुसन्धान अघि बढाएको छ । 

सुझावित समाचार