सल्यानको शारदा नगरपालिकाले ल्यायो एक अर्बभन्दा बढीको बजेट

शुक्रबार, ६ असार, २०८२
डिजिटल संस्करण

सल्यानको शारदा नगरपालिकाले एक अर्ब १९ करोड रुपैयाँभन्दा बढीको बजेट सार्वजनिक गरेको छ। यस वर्ष जिल्लामै पहिलोपटक नगरपालिकाले आगामी वर्षको बजेट सार्वजनिक गरेको हो । नगरप्रमुख प्रकाश भण्डारीको अध्यक्षतामा भएको नगरसभाको अधिवेशनमा नगर उपप्रमुख सुस्मिता सापकोटा (सुनार)ले आर्थिक वर्ष ०८२/०८३ को लागि एक अर्ब १९ करोड २९ लाख १२ हजार रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् ।  

नगरसभाले सो बजेटलाई सर्वसम्मत रूपमा पारित गरेको छ । यस नगरपालिकाले अघिल्लो आर्थिक वर्ष ०८१/०८२ मा ८२ करोड ७१ लाख ९७ हजार रुपैयाँको बजेट ल्याएको थियो । बजेटको स्रोततर्फ दुई करोड रुपैयाँ आन्तरिक आयबाट उठाउने योजना छ भने एक अर्ब १७ करोड २९ लाख १२ हजार रुपैयाँ प्रदेश तथा संघ सरकारबाट प्राप्त अनुदानबाट व्यहोर्ने लक्ष्य राखिएको छ ।

१७औँ अधिवेशनमा वित्तीय समानीकरण अनुदान ११ करोड ६६ लाख, राजस्व बाँडफाँटतर्फ ११ करोड १५ लाख ५२ हजार, ससर्त अनुदान संघ ६७ करोड ३६ लाख ४४ हजार, समपूरक अनुदान संघ ८७ लाख, प्रदेश सरकार वित्तीय समानीकरण अनुदान एक करोड ५४ लाख ४६ हजार, राजस्व बाँडफाँट ३५ लाख ४६ हजार, ससर्त अनुदान प्रदेश नाै करोड ८४ लाख २६ हजार, समपूरक एक करोड, समाजिक सुरक्षा १३ करोड ५० लाख  र आन्तरिक आय दुई करोड गरी एक अर्ब १९ करोड २९ लाख ९२ हजारको बजेट पारित गरेको हो । 

आव ०८२/८३ का लागि आर्थिक विकासतर्फ चार करोड ५० लाख एक हजार, सामाजिक विकासतर्फ ४५ करोड ४४ लाख ५८ हजार, पूर्वाधार विकासतर्फ ५३ करोड ९६ लाख ७३ हजार, वन, वातावरण तथा विपत् व्यवस्थापनतर्फ ६५ लाख र संस्थागत विकास र सुशासनतर्फ १४ करोड ४२ लाख ८० हजार बजेट विनियोजन गरेको छ । 

यस्तै, शिक्षा, युवा तथा खेलकुदतर्फ २५ करोड ८५ लाख, स्वास्थ्य तथा पोषणमा पाँच करोड ८९ लाख ३८ हजार, कृषि विकास ५८ लाख २० हजार, पशु सेवा ३७ लाख ५० हजार, महिला, बालबालिका तथा समाज कल्याणतर्फ २० लाख, खानेपानी तथा सरसफाइ ४६ करोड २४ लाख ७३ हजार, वन तथा वातावरण ३५ लाख , सहकारी संघसंस्था १० लाख, विपत् व्यवस्थापन ३० लाख बजेट विनियोजन गरिएको छ । 

यस्तै, सूचना प्रविधि ४० लाख, अध्ययन अनुसन्धान १० लाख, स्वास्थ्य उपचार कोष १५ लाख, मर्मत सम्भार कोष १० लाख, उपप्रमुख पोषण कोसेली कार्यक्रम पाँच लाख, कार्यालय सञ्चालन पाँच करोड, कर्मचारी पारिश्रमिक तथा सुविधा सात करोड ४४ लाख, पदाधिकारी सेवा सुविधा एक करोड ३० लाख, नगर प्रहरी एक करोड पाँच लाख, वडागत पुँजीगत तीन करोड, वडागत चालू ६९ लाख, रोजगार परियोजना दुई करोड ४४ लाख ३९ हजार बजेट विनियोजन भएको छ । 

त्यस्तै, सवारीसाधन खरिद ५० लाख, भुक्तानी बाँकी परियोजना २० लाख र क्रमागत योजनामा ८७ लाख बजेट विनियोजन गरिएको छ । आन्तरिक आम्दानीतर्फ भूमि तथा मालपोत कर, व्यवसाय कर, सेवा शुल्क, जरिवाना, मालपोत कार्यालयबाट प्राप्त हुने रकम र अन्य शुल्कहरूबाट करिब दुई करोड रुपैयाँ आम्दानी हुने लक्ष्य लिइएको छ । संघीय र प्रदेशबाट समानीकरण अनुदान, राजस्व बाँडफाँट, ससर्त र समपूरक, सामाजिक सुरक्षा भत्ता, विशेष अनुदानलगायत शीर्षकबाट ठुलो मात्रामा अनुदान प्राप्त हुने अनुमान गरिएको छ ।
 

सुझावित समाचार