सर्वोच्चमा तीन न्यायाधीश नियुक्तिको सिफारिस, अझै एक रिक्त

०७८ यता सबै २१ न्यायाधीश कहिल्यै पनि छैनन् सर्वोच्चमा

बुधबार, २९ जेठ, २०८२
डिजिटल संस्करण

सर्वोच्चमा चार न्यायाधीश पद रिक्त रहेकामा न्याय परिषद्ले तीन न्यायाधीशका लागि मात्रै नाम सिफारिस गरेको छ । परिषद्ले मंगलबार उच्च अदालत जनकपुर इजलासका मुख्य न्यायाधीश श्रीकान्त पौडेल, उच्च अदालत दिपायलकी मुख्य न्यायाधीश शान्ति सिंह थापा र वरिष्ठ अधिवक्ता मेघराज पोखरेलको नाम सिफारिस गरेको हो ।

न्यायाधीशद्वय पौडेल र थापा विशेष अदालतमा समेत न्यायाधीश बनिसकेका हुन् । पौडेल ०७८ फागुनदेखि ०८० मंसिरसम्म विशेषका अध्यक्ष थिए भने थापा ०७६ साउनदेखि ०७८ साउनसम्म सदस्यका रूपमा थिइन् । पौडेल ०५० साउनमा न्याय सेवा आयोगमा प्रवेश गरेका थिए । उनी सर्वोच्च अदालतको रजिस्ट्रारसमेत बनिसकेका छन् । ०७३ पुसमा न्यायपरिषद्ले उनलाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो । थापा भने जिल्ला न्यायाधीश हुँदै उच्चमा नियुक्त भएकी थिइन् । पौडेलकै लटमा उनी पनि नियुक्त भएकी थिइन् ।

त्यस्तै, पोखरेल सत्तारुढ कांग्रेसको कोटाबाट रिफारिस भएका हुन् । दोलखाका उनले ०७९ भदौमा वरिष्ठको अधिवक्ताको उपाधि प्राप्त गरेका थिए । पोखरेल सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्षसमेत हुन् । कांग्रेसनिकट डिएलएबाट उम्मेदवारी दिएर उनी गत पुसमा लोकतान्त्रिक प्यानलबाट विजयी भएका थिए । भागबन्डामा एमाले कोटामा परेको एक पदमा भने सिफारिस बाँकी नै छ । 

प्रधानन्यायाधीशसहित २१ न्यायाधीश रहने सर्वोच्च अदालतमा ०७८ यता कहिल्यै पनि पूरा न्यायाधीश छैनन् । जबकि न्यायपरिषद् ऐनअनुसार परिषद्ले उमेर हदले अवकाश पाउने सर्वोच्चका न्यायाधीशको ठाउँमा एक महिनाअगावै नियुक्ति सिफारिस गर्नुपर्छ । हाल १७ जना मात्रै कार्यरत छन् । अब सिफारिस भएकाहरूको नाम संसदीय सुनुवाइबाट अनुमोदन भए राष्ट्रपतिबाट उनीहरूको नियुक्ति हुनेछ । तर, एक न्यायाधीश अझै रिक्त रहनेछ । परिषद्ले गत वर्ष पनि ६ रिक्तमध्ये दुई पदमा सिफारिस गरेर चार रिक्त नै राखेको थियो । 

त्यतिवेला नित्यानन्द पाण्डेय र नृपध्वज निरौला नियुक्त भएका थिए । संविधानको धारा १२९(५) अनुसार कानुनमा स्नातक उपाधि प्राप्त गरी उच्च अदालतको मुख्य न्यायाधीश वा न्यायाधीश पदमा कम्तीमा पाँच वर्ष काम गरेपछि सर्वोच्चको न्यायाधीशमा नियुक्तिको योग्यता पुग्छ । साथै कानुनमा स्नातक गरी वरिष्ठ अधिवक्ता वा अधिवक्ताको हैसियतमा कम्तीमा १५ वर्ष निरन्तर वकालत गरेमा, न्याय वा कानुनको क्षेत्रमा निरन्तर काम  गरी विशिष्ट कानुनविद्को ख्याति हुने संवैधानिक व्यवस्था छ । 

हाल न्यायपरिषद्को नेतृत्व प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले गरिरहेका छन् भने वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल सदस्य छिन् । अन्य सदस्यमा कानुनमन्त्री अजयकुमार चौरसिया तथा वरिष्ठ अधिवक्ताहरू रामप्रसाद भण्डारी र दामोदर खड्का छन् । हाल उच्चमा झन्डै दुई दर्जन र जिल्लामा आधा दर्जन न्यायाधीश पद रिक्त छन् । यी पदमा पनि परिषद्ले नै नियुक्ति गर्छ । 
 

सुझावित समाचार