लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरुङ पदमुक्त भएकी छिन्। प्रदेश सभाको बुधबारको बैठकमा सभामुख तुलाराम घर्तीमगरले जनमत पार्टीको तर्फबाट सांसद रहेकी गुरुङ पदमुक्त भएको प्रदेश सभालाई जानकारी गराएका हुन्।
सभामुखका अनुसार संसदीय दल र प्रदेश सभालाई सूचना नदिई लगातार १० वटा बैठकमा अनुपस्थित भएपछि उनी पदमुक्त भएकी हुन्। गुरुङ लगातार अनुपस्थित भएको अनुरोध मंगलबार आएको र प्रदेश सभाको प्रशासन शाखाले पनि लगातार १० वटा बैठकमा अनुपस्थित रहेको प्रतिवेदन दिएको भन्दै सभामुखले संविधानबमोजिम गुरुङको पद रिक्त भएको बताए।
गत वैशाख ३० गते सामाजिक सञ्जालमार्फत गुरुङको राजीनामा सार्वजनिक भएको थियो। पछि इमेलमार्फत प्रदेश सभामा उनको राजीनामा पुगेको थियो।
प्रदेश सभाले गुरुङलाई राजीनामा सनाखतका लागि उपस्थित हुन पत्रसमेत लेखेको थियो। राजीनामाको आधिकारिकताका लागि उनलाई संसद् सचिवालयले पत्रचार गरेको थियो।
८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा गुरुङ पदमुक्त भएपछि अब ८६ सदस्य रहेका छन्।