नेकपा एमालेले गणतन्त्र उत्सवका रूपमा १५ जेठमा आयोजना गर्ने विशाल जनप्रदर्शनलाई सफल पार्न नेताहरूलाई विभिन्न जिम्मेवारी दिएको छ । सोमबार बिहान पार्टी केन्द्रीय कार्यालय च्यासलमा भएको भेलामा जनपरिचालन गर्नका लागि नेताहरूको जिम्मेवारी बाँडफाँटको सूची जानकारी गराइएको हो ।
महासचिव शंकर पोखरेलका अनुसार गणतन्त्र दिवसलाई आमजनताले सम्झने गरी मनाउन र राजावादीहरूले फैलाएका भ्रमहरू चिर्नका लागि जनप्रदर्शनको तयारी गरिएको हो । जनसंगठनका अध्यक्ष, इन्चार्ज र काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका वडा तहसम्मका पदाधिकारीहरूको भेलामा महासचिव पोखरेलले नेताहरूको जिम्मेवारी बाँडफाँटको जानकारी गराएका हुन् ।पोखरेलका अनुसार काठमाडौं जिल्लाबाट व्यापक मात्रामा जनमानस परिचलान गर्नका लागि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठलाई जिम्मेवारी दिइएको छ ।
जनसंगठनहरूको संयोजन गर्नका लागि सचिव गोकर्ण विष्टलाई जिम्मेवारी दिइएको छ । विष्टलाई सबै जनसंगठनका इन्चार्जहरूले सघाउनेछन्। एमालेमा ठुलो जनाधार भएको संगठनको रूपमा रहेको सम्पर्क समन्वयको संयोजनको जिम्मेवारी विभिन्न भूगोलअनुसार फरक–फरक नेताहरूलाई दिइएको छ । जसअनुसार सुदूरपश्चिम र कर्णाली प्रदेश समन्वयको जिम्मा सचिव लेखराज भट्ट, बागमती प्रदेशका जिल्लाको जिम्मा उपमहासचिव प्रदीप ज्ञवालीलाई दिइएको छ ।
लुम्बिनी र गण्डकीका सबै जिल्ला समन्वयको जिम्म सचिव पद्मा अर्याललाई तोकिएको छ । कोशी प्रदेशका जिल्लाहरूको समन्वय गर्न उपाध्यक्ष रामबहादुर थापालाई जिम्मेवारी दिएको छ । मधेश प्रदेशका आठवटै जिल्लाका सम्पर्क मञ्चहरूको समन्वय गर्न उपाध्यक्ष युवराज ज्ञवालीलाई जिम्मेवारी दिइएको छ। उपत्यकाका जनप्रदर्शनमा ठुलो संख्यामा सहभागी गराउने ललितपुर र भक्तपुरको समन्वय गर्न उपाध्यक्षहरू क्रमशः अष्टलक्ष्मी शाक्य र गुरु बराललाई जिम्मेवारी तोकिएको छ ।
उपत्यकाबाहेक बागमती प्रदेशका १० वटा जिल्लाको समन्वयको जिम्मेवारी उपाध्यक्ष सुरेन्द्र पाण्डेलाई दिइएको छ। स्वयंसेवक परिचालनका लागि उपमहासचिव एवं प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाललाई जिम्मेवारी दिइएको छ । उपत्यका विशेषको संयोजन सचिव योगेश भट्टराईलाई दिइएको छ । सबै विभागको संयोजनको जिम्मेवारी सचिव छविलाल विश्वकर्मालाई दिइएको छ ।
गणतन्त्र दिवसका दिन १५ जेठ बिहान ११ बजे भृकुटीमण्डपमा एमालेका नेता–कार्यकर्ता झाँकी, जुलुस र आफ्नो पार्टी, जनसंगठनको पहिचानसहित उपस्थित हुन पनि आजको भेलाले निर्देशन गरेको छ। आइतबारको सचिवालय बैठकले १५ जेठमा काठमाडौंसहित ७५३ वटै पालिकाहरूमा गणतन्त्र दिवस भव्यताका साथ मनाउने निर्णय गरेको थियो ।