कैलाश चौधरीलाई मन्त्री बनाउन नागरिक उन्मुक्तिको सिफारिस

बुधबार, ३१ बैशाख, २०८२
डिजिटल संस्करण

नागरिक उन्मुक्ति पार्टीले आफ्ना सांसद कैलाश चौधरीलाई मन्त्री बनाउन सुदूरपश्चिम प्रदेश सरकारलाई सिफारिस गरेको छ। नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठले कैलाशलाई मन्त्री नियुक्त गर्न मुख्यमन्त्री कमलबहादुर शाहलाई सिफारिस पठाएकी छिन् ।

सिफारिस प्राप्त भएसँगै मुख्यमन्त्री शाहले चौधरीलाई उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नियुक्त गर्ने तयारी गरेका उनको सचिवालयले जनाएको छ । यसअघि यो मन्त्रालयको मन्त्री नागरिक उन्मुक्तिकै लक्ष्मणकिशोर चौधरी थिए ।  

चौधरीको लेनदेनसँग जोडिएको अडियो सार्वजनिक भएपछि गत १६ चैतमा उनले राजीनामा दिएका थिए । चौधरीले राजीनामा दिएको डेढ महिनासम्म नागरिक उन्मुक्तिले मन्त्रीका लागि पार्टीबाट नाम सिफारिस गर्न सकेको थिएन । मंगलबार बसेको नागरिक उन्मुक्तिको संसदीय दलको बैठकले पार्टी केन्द्रलाई मन्त्रीको नाम सिफारिस गर्न वा त्यसको अधिकार संसदीय दललाई दिन आग्रह गरेको थियो ।

मन्त्रीको सिफारिस भएका चौधरी अध्यक्ष श्रेष्ठका विश्वासपात्र हुन् । कैलालीको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र १ बाट निर्वाचित उनी प्रदेश सरकारमा तेस्रोपटक मन्त्री बन्दै छन् । उनी ०८० साउनदेखि फागुनसम्म भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री र गत वर्ष वैशाखदेखि असारसम्म भौतिक पूर्वाधार विकासमन्त्री बनेका थिए ।   
      
 

सुझावित समाचार