अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय महिला टोलीका लागि पहिलोपटक प्रो. लाइसेन्स प्राप्त प्रशिक्षक नियुक्त गर्ने भएको छ ।
सोमबार एन्फाले सूचना जारी गर्दै प्रो. लाइसेन्स प्राप्त प्रशिक्षकको आवेदन खुला गरेको छ । आवेदन भर्नाका लागि एन्फाले उमेर समूह वा राष्ट्रिय टोली सम्हालिसकेको र कम्तीमा दुई वर्षको अनुभव भएको मापदण्ड राखेको छ ।
हाल नेपालमा प्रो. लाइसेन्स गरेका प्रदीप हुमागाईं मात्रै छन् । पछिल्लो समय उनले अर्जेन्टिना पुगेर प्रो. लाइसेन्स प्राप्त गरेका थिए । हुमागाईंले पनि आवेदन दिने बुझिएको छ ।
एन्फाले एएफसी महिला एसियन कप छनोट २०२६ लाई लक्षित गर्दै प्रशिक्षकको आवेदन खुलाएको हो । एसिया कप छनोटको समूह ‘एफ’मा नेपाल, लाओस, उज्वेकिस्तान र श्रीलंका छ । यो समूहको खेल उज्वेकिस्तानमा हुनेछ । नेपालले जुन २९ मा लाओससँग खेल्दै छनोटको सुरुवात गर्नेछ ।
यस्तै नेपालले जुलाई २ मा श्रीलंका र ५ मा घरेलु टोली उज्वेकिस्तानको सामना गर्नेछ । समूहको शीर्ष स्थानमा रहने टोली अस्ट्रेलियामा हुने एसिया कपका लागि छनोट हुनेछ ।
साथै एन्फाले पर्फर्मेन्स एनलाइसिसका लागि पनि आवेदन खुलाएको छ । यसमा फिटनेस कोर्सको प्रमाणपत्र हुनुपर्ने र लेभल वानको डाटा एनलाइसिस गरेको अनुभव हुनुपर्ने जनाएको छ । यस्तै, कम्तीमा एक वर्षको अनुभव अनिवार्य हुनुपर्नेछ।