प्रधानन्यायाधीशसँग बार नेतृत्वको भेट, न्यायपरिषद् नियमावलीको संशोधन खारेज गर्न माग

आइतबार, ७ बैशाख, २०८२
डिजिटल संस्करण

नेपाल बार एसोसियसनको नवनिर्वाचित नेतृत्वले प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसँग भेट गरेको छ। भेटमा बारले न्यायपरिषद् नियमावली, २०७४ को दफा ११ खारेज गर्न माग गरेको छ । 

अध्यक्ष प्रा.डा विजयकुमार मिश्रको नेतृत्वमा पदाधिकारी तथा सदस्यहरूले आइतबार शिष्टाचार भेट गरी सो विषय राखेका हुन्। सोही दफाका कारण केही समययता बार–बेन्च सम्बन्ध चिसिएको छ। न्यायपरिषद्ले १ असोज २०८० मा नियमावली संशोधन गर्दै न्याय तथा कानुन सेवाबाट नियुक्त भएका न्यायाधीश वरीयतामा माथि रहने प्रावधान राखेको छ। यसले कानुन व्यवसायीबाट नियुक्त हुने न्यायाधीशमाथि अन्याय हुने भन्दै बार एसोसियनले विरोध गर्दै आएको छ। बारको नयाँ नेतृत्वले पनि प्रधानन्यायाधीशलाई यस विषयमा ध्यानाकर्षण गराएको छ। बारले नियम ११ खारेज गरेर मात्र न्यायाधीश नियुक्त गर्न आग्रह गरेको छ। 

त्यस्तै, बारका निवर्तमान अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्धको अदालतको अपहेलना मुद्दाको शीघ्र सुनुवाइ गर्नुपर्ने, दोहोर्‍याइ पाऊँ  भन्ने मुद्दाको सुनुवाइमा गाम्भीर्य कायम गर्नुपर्नेलगायतका विषय प्रधानन्यायाधीशसँग राखेका छन्। 

भेटमा प्रधानन्यायाधीश राउतले न्यायापालिका सुधारका लागि आफूले जुनसुकै कदम चाल्न तयार गरेको बताएका थिए। साथै, आगामी दिनमा बार–बेन्च समन्वय समितिमार्फत आएका समस्यलाई आपसी सहमतिमा समाधान गर्दै सुधारका लागि अघि बढ्त तयार रहेको भनेर जानकारी गराएको बारका महासचिव केदार कोइरालाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

सुझावित समाचार