क्यानले बोलायो बन्द प्रशिक्षणमा पुरुष र महिला खेलाडी

आइसिसी विश्वकप लिग–२ र महिला विश्वकप एसियन छनोटका लागि प्रारम्भिक खेलाडी छनोट

सोमबार, १७ चैत, २०८१
डिजिटल संस्करण

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय पुरुष र महिला टोलीका खेलाडीलाई एकैपटक प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि बन्द प्रशिक्षणमा बोलाएको छ । पुरुष टोलीले आइसिसी विश्वकप लिग–२ तथा महिलाले विश्वकप छनोट खेल खेल्दै छन् । गत शुक्रबार क्यानले नेपाली पुरुष टोलीको प्रमुख प्रशिक्षकमा अस्ट्रेलियन स्टुवार्ट ललाई नियुक्त गरेको थियो । जिम्मेवारी पाएको तेस्रो दिनमै स्टुवार्टले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने विश्वकप लिग–२ शृंखलाका लागि बन्द प्रशिक्षण राखेका छन् । 

क्यानको खेलाडी छनोटले प्रारम्भिक रूपमा ४८ खेलाडी समावेश गरेको छ । विश्वकप लिग–२ मा राम्रो नतिजा निकाल्न छनोट भएका खेलाडीलाई चार समूहमा विभाजित गरिएको छ । खेलाडीलाई नेपाल रातो, नेपाल नीलो, नेपाल पहेँलो र नेपाल हरियो बनाइएको क्यानका प्रवक्ता छुम्बी लामाले बताए । लामाका अनुसार प्रमुख प्रशिक्षक स्टुवार्टको प्रत्यक्ष निगरानीमा बन्द प्रशिक्षणमा छनोट भएका खेलाडीले अभ्यास खेल खेल्नेछन् । 

चार समूहबिच हुने अभ्यास खेलबाटै नेपाली टोली घोषणा गर्ने क्यानको तयारी छ । शनिबार मात्र आठौँ प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता सम्पन्न भएको थियो । यसै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका युवा तथा उदीयमानी खेलाडीलाई प्रारम्भिक टोलीमा समावेश गरिएको छ । चोटका कारण लेगस्पिनर सन्दीप लामिछानेले प्रतिस्पर्धा गरेका थिएनन् । तर, क्यानले उनलाई पनि बन्द प्रशिक्षणमा बोलाएको छ । प्रारम्भिक टोलीमा कप्तान रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी, आसिफ शेख, कुशल भुर्तेल, करण केसीजस्ता अनुभवी खेलाडी छन् । 

प्रतिभाशाली खेलाडीमा साहब आलम, आकाश चन्द, विवेककुमार यादव, सूर्य तामाङ, देव खनाल, बसिर अहमद, प्रतिस जिसी, अर्जुन घर्ती रहेका छन् । त्रिभुवन आर्मीका साहब प्रधानमन्त्री कपमा सय विकेट पूरा गर्ने दोस्रो बलर बनेका थिए । विश्वकप लिग–२ मा नेपालले अहिलेसम्म तीन शृंखला खेलेको छ । नेपाल अहिले आठमध्ये सातौँ स्थानमा छ । नेपालले शृंखलामा दुई जित मात्र हात पारेको छ । 

महिलातर्फ २८ खेलाडी
नेपाली महिला टोलीले आगामी मेमा थाइल्यान्डले आयोजना गर्ने आइसिसी महिला टी–२० विश्वकपअन्तर्गत एसिया छनोट खेल्नेछ । क्यानले आइतबार २८ जनाको प्रारम्भिक टोली घोषणा गरेको छ । क्यानले महिला टोलीको कन्सल्ट्यान्ट प्रशिक्षकका रूपमा भारतका मनीष झालाई जिम्मेवारी दिएको छ । थाइल्यान्डमा हुने एसिया छनोटका शीर्ष दुई टोली विश्वकपका लागि छानिनेछन् । विश्वकप छनोटमा १० टोलीबिच प्रतिस्पर्धा हुनेछ । क्यानको प्रारम्भिक खेलाडीमा सिनियर खेलाडीकै बाहुल्य छ । दुई साताअघि युगान्डामा भएको चारदेशीय टी–२० आई खेलेका सबै खेलाडीले प्रारम्भिक चरणमा स्थान बनाएका छन् । 

४८ पुरुष खेलाडी
रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी, आसिफ शेख, कुशल भुर्तेल, गुल्सनकुमार झा, करण केसी, ललितनारायण राजवंशी, अनिलकुमार साह, सन्दीप जोरा, आरिफ शेख, भीम सार्की, कुशल मल्ल, सागर ढकाल, लोकेश बम, साहब आलम, आकाश चन्द, विवेककुमार यादव, सूर्य तामाङ, रिजन ढकाल, देव खनाल, बसिर अहमद, प्रतिस जिसी, अविनाश बोहरा, मयन यादव, अर्जुन घर्ती, हेमन्त धामी, दीपेशप्रसाद कँडेल, रुपेशकुमार सिंह, अर्जुन कुमाल, शुभ कंसाकार, किरण ठगुन्ना, इशान पाण्डे, शेर मल्ल, प्रज्वल थापा, तृतराज दास, दीपेन्द्र रावत, नन्दन यादव, सुजन थपलिया, दिलीप नाथ, आकाश त्रिपाठी, विशाल पटेल, शाकिब हक, विनोद भण्डारी, पवन सर्राफ, रासिद खान, अर्जुन साउद । 

२८ महिला खेलाडी

इन्दु बर्मा (कप्तान), रुविना क्षेत्री, विन्दु रावल, एलिसाकुमारी यादव, साना प्रवीण, राजमती ऐरी, रोमा थापा, कविता कुँवर, ईश्वरी विष्ट, पूजा महतो, कविता जोशी, मनीषाकुमारी उपाध्याय, सबनम राई, सिमाना केसी, रचनाकुमारी चौधरी, सम्झनाकुमारी खड्का, रिया शर्मा, रुवी पोद्दार, सीता रानामगर, यशोदा विष्ट, अनु कडायत, मनीषा बोहरा, लक्ष्मी साउद, हेलिसा गुरुङ, काजल श्रेष्ठ, सोमु विष्ट, संगीता राई, एलिसा खडिया ।

See More On

सुझावित समाचार