कुइकामा हट्दै बालविवाह, छाउपडी र जातीय विभेद

आइतबार, १६ चैत, २०८१
डिजिटल संस्करण

 अछामको पञ्चदेवल विनायक नगरपालिका–१ मा पर्ने कुइका सबैभन्दा सानो वडा हो । जहाँ दलितभन्दा गैरदलित समुदायको बसोवास धेरै छ । दशकअघि दलित र गैरदलित सँगै बसेर खाने अवस्था थिएन । महिलाहरू महिनावारी हुँदा छाउगोठमा बस्नुपथ्र्यो । तर, पछिल्लो समय कुइकामा बालविवाह, छाउपडी र जातीय विभेदको अवस्थामा सुधार आएको छ ।

वडाध्यक्ष दुर्गाप्रसाद तिमिल्सिनाले जातीय विभेद र विकृति–विसंगतिमा व्यापक सुधार आएको बताए । ‘चियापसल, भोजभतेर र गाउँका सार्वजनिक ठाउँमा विभेदको अवस्था शून्य छ,’ उनले भने, ‘अचेल महिनावारी चरणका महिला पनि गोठमा बस्नुपर्दैन । तर, विभेदका केही अवशेष भने बाँकी छन् ।’ कतिपय ज्येष्ठ नागरिकले अझै पनि छाउ र जातका आधारमा विभेद गर्ने गरेको उनले बताए ।

कुइकाको मंगलेश्वरी आधारभूत विद्यालयमा शनिबार आयोजित बाल कचहरीमा वडाध्यक्ष तिमिल्सिनाले विगतभन्दा बालविवाहको अवस्थामा पनि सुधार आएको दाबी गरे । विगतमा अभिभावककै सहमतिमा बालविवाह हुने गरे पनि केही वर्षयता त्यो तथ्य शून्यमा झरेको उनको भनाइ छ । अहिले यहाँका बालबालिकासमेत सचेत भएकाले बालविवाह घटेको तिमिल्सिनाले बताए ।

जिल्ला बाल सञ्जालका वरिष्ठ उपाध्यक्ष रीता ढकालले बालविवाह घटेको जस्ता सकारात्मक विषयले प्राथमिकता नपाएको गुनासो गरिन् । ‘यहाँ धेरै परिवर्तन भएको छ,’ उनले भनिन्, ‘यसबारे बाहिर चर्चा भएको छैन । प्रचार नभएकै कारण यहाँको परिवर्तन नदेखिएको मात्र हो ।’ जोखिममा रहेका बालबालिकाका क्षेत्रमा वल्र्ड भिजन र आस्था नेपालमार्फत उनीहरूको विकास र समृद्धिमा परिवर्तन आएको उनले दाबी गरिन् ।

सुझावित समाचार