प्रतिनिधिसभामा राजतन्त्रबारे कांग्रेस र राप्रपा सवाल–जवाफ, धेरै नहौसिन पूर्वराजालाई चेतावनी

बिहिबार, ६ चैत, २०८१
डिजिटल संस्करण

राजतन्त्रको इतिहास र पछिल्लो समय चलेको राजा फर्काउने अभियानबारे संसद्मा कांग्रेस र राप्रपाबिच सवाल–जवाफ भएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा कांग्रेस सांसदहरूले संविधानअनुसार बोल्ने अधिकार पाएका पूर्वराजालाई धेरै नहौसिन चेतावनी दिए । राप्रपा सांसदले भने भ्रष्टाचार र कुशासनले सीमा नाघेपछि पूर्वराजाले साथ देऊ भनेर जनतालाई अपिल गरेर सडकमा आएको जवाफ दिए । 

कांग्रेस नेता विमलेन्द्र निधिले गणतन्त्र कसैले दानमा दिएको प्रणाली नभएको र सार्वभौम जनताको अधिकार प्रयोग गरेर गणतन्त्र ल्याएको बताए । पृथ्वीनारायण शाहदेखि वीरेन्द्र र ज्ञानेन्द्रको शासन हेरिएको, राजतन्त्रको दुष्परिणाम हेरिसकेको, राजनीतिक अधिकारको उपभोग गर्न खोज्दा निर्दलीय पञ्चायतमा आफूसहित हजारौँ युवा जेलमा परेको निधिले स्मरण गराए । राजतन्त्रको दुष्परिणामकै कारण जनताले निर्दलीय पञ्चायत र राजतन्त्र अन्त्य गरेको र संविधानसभाबाट गणतन्त्र ल्याएको भन्दै निधिले गणतन्त्रको जग बलियो भएकाले दुई–चारजना संविधानको अधिकार प्रयोग गरेर बोल्दैमा केही फरक नपर्ने बताए । व्यवस्थाप्रति गणतन्त्रवादीहरू प्रतिबद्ध रहेको र कुनै पनि खालको राजतन्त्र फर्काउने पक्षमा जनता नरहेको उनको भनाइ थियो । ‘देशी–विदेशी साधुसन्तले यो आउँछ त्यो आउँछ भनेर कसैले सोच्छ भने नसोचे हुन्छ,’ उनले भने । 

ज्ञानेन्द्र शाहलाई राजा भन्ने कि पूर्वराजा भन्ने बहस चलेको भन्दै निधिले अन्तिम राजा भन्दा उपयुक्त हुने बताए । अन्य देशमा राजतन्त्रको आवसान सुखद नरहेको भन्दै निधिले नेपाली जनताले धैर्य र सम्मान दिएको भन्दै र त्यो सीमालाई पार नगर्न पूर्वराजा शाहलाई चेतावनी दिए । संघीय लोकतान्त्रिक गणतन्त्रको जग बलियो रहेको भन्दै निधिले यो चिरायु रहिरहने भएकाले कुनै चिन्ता नगर्न आग्रह पनि गरे । निधिले गणतन्त्रको जग बलियो भए पनि संघीयता कार्यान्वयनका काम नभएको भन्दै गणतन्त्र पक्षधरले मनन गर्नुपर्ने वेला आएको बताए ।कांग्रेसकै रामकृष्ण यादवले जनतालाई बोल्ने र लेख्न नदिने, जनताको घरसम्म विकास नपुर्याउने पञ्चायती व्यवस्थामा ब्रह्मलुट मच्चाएकाले गणतन्त्रमा केही भएन भन्ने भाष्य बनाएर राजतन्त्र फर्काउने अभियानमा लागेको भन्दै सचेत हुन अपिल गरे । 

माओवादी उपमहासचिव जनार्दन शर्माले लोकतन्त्रको विकल्प निरंकुश तानासाहीतन्त्र कदापि हुन नसक्ने बताए । दरबार हत्याकाण्ड भएकै दिनदेखि गणतन्त्रको प्रारम्भ भएको र राजावादी दलहरू सम्मिलित पहिलो संविधानसभाले गणतन्त्रलाई औपचारिकता दिएको स्मरण गराउँदै शर्माले भने, ‘त्यसकारण वंशनाशसँगै समाप्त भएको राजतन्त्र फेरि फर्किँदैन । र, सार्वभौम भएको जनता फेरि राजतन्त्र ल्याउने मूर्खता गर्दैन । बरु समाजमा रहेको राजतन्त्रात्मक सोच, शैली, व्यवहार र प्रवृत्ति भने अन्त्य गर्नैपर्छ । आफैँभित्रको राजतन्त्र अन्त्य गर्न लाग्नुपर्दछ । आजको मुख्य काम यही हो । राजतन्त्र फर्किन्छ कि भनेर अनावश्यक आशंकित र होहल्ला गर्न जरुरी छैन ।’ 

संविधान निर्माणपछि कार्यान्वयन, जनताको जीवनस्तर र आर्थिक सुधारमा भन्दा दलबिच कुर्सीको छिनाझपटी, सत्तामोह, एक–अर्काप्रतिका गाली गलौज, लाञ्छना र अवसर पाउँदा सबै असैद्धान्तिक गठबन्धनमा सामेल हुने प्रवृत्तिका कारण लोकतान्त्रिक अभ्यास र संस्कारमा केही समस्या र अविश्वास उत्पन्न भएको पनि उनले बताए । ‘मलाई त राजतन्त्र फर्किन्छ भन्ने डर छँदै छैन । हाम्रा कमीकमजोरी सच्याउन सक्छौँ कि सक्दैनौँ भन्ने डर मात्र छ,’ उनले भने । सरकारले जनतमा देखिएको आक्रोश र वितृष्णालाई नजरअन्दाज गर्नेभन्दा आफू सच्चिएर जानुपर्नेमा उनले जोड दिए । जनताले पछि फर्किने भनेको होइन उन्नत लोकतन्त्र चाहेको र सेवामा सरलीकरण खोजेको भन्दै यो आवाजलाई राज्य, पार्टी र सरकारले आत्मसमीक्षासहित सुन्नैपर्ने उनले बताए । 

राप्रपा सांसद दीपकबहादुर सिंहले पछिल्लो दुई दशकमा सरकार चलाउन राजाले कुनै हस्तक्षेप नगरेको, तर गणतन्त्रवादी त्यसै आत्तिरहेको देखिएको बताए । ‘बरु राजाले विभिन्न सरकारलाई सुशासन देऊ, भ्रष्टाचार नियन्त्रण गर, जनतालाई समृद्धि देऊ, उन्नति देऊ भनेर पटक–पटक सन्देश दिए । तर, सरकारहरूले सुध्रिने कुनै लक्षण देखाएनन् । त्यो पछि राजाले राष्ट्र र जनता बचाउनका लागि एकचोटि मलाई साथ देऊ भनेर सन्देश दिँदा जनताहरू विमानस्थलमा स्वागत गर्न आए । त्यति आत्तिनुपर्दैन । नआत्तिनुस्,’ उनले भने । 

सरकारमा बसेकाहरूको कुकर्म र दूरदर्शिताको अभावले दुःख पाएका जनताले आज राजा, धर्म, कुशासन सुशासन, न्याय खोजेको उनले बताए । सिंहले बोल्दै गर्दा कांग्रेसका रामकृष्ण यादव उठेर आपत्ति जनाए । आफूलाई रोकेपछि सिंहले ‘तपाईंले बोल्दा त मैले केही पनि भनेको थिइनँ’ भनेर प्रतिवाद गरेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले कुन नियमअन्तर्गत नियमापत्ति भनेर सोधे । सिंहको विचार नभई अभिव्यक्ति भएको र यादवले राखेको नियमापत्ति नमिलेको भन्दै सभामुख घिमिरेले बस्न निर्देशन दिए । 

कांग्रेस सांसद ईश्वरीदेवी न्यौपानेले गणतन्त्रको उपभोग राजावादीहरूले पनि गरिरहेको बताइन् । गणतन्त्रमा आउनेले डुबाएको भन्ने तर्कको प्रतिवाद गर्दै न्यौपानेले राप्रपाकै अध्यक्ष गणतन्त्रमा उपप्रधानमन्त्री बनेको र नेताहरू मन्त्री बनेकाले डुबाउँदाको हिस्सेदार राजा बोक्नेहरू पनि भएको बताइन् । राजा बोकेर हिँडेको राप्रपालाई राजाले नै विश्वास नगरेको अवस्था पनि देखिएको उनको भनाइ थियो । 

प्रतिनिधिसभाले सशस्त्र प्रहरी बल, नेपाल विधेयक दफावार छलफलका लागि राज्य व्यवस्था तथा सुशासन समितिमा पठाएको छ । गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी बल नेपाल विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । प्रस्तावलाई सभाले सर्वसम्मत स्वीकृत गरेसँगै विधेयक समितिमा गएको हो । 

सांसदले तीनमहले खोजेपछि राष्ट्रिय सभा स्थगित
अध्यादेश प्रतिस्थापन विधेयकमा छलफल गर्न बोलाइएको राष्ट्रिय सभा बैठक तीनमहलेको अभावमा स्थगित भएको छ । बुधबार राष्ट्रिय सभाको दुइटा बैठक बसेर दुइटा प्रतिस्थापन विधेयकमा सैद्धान्तिक छलफल सकाउने कार्यसूची तय भएको थियो । कार्यसूचीअनुसार १ बजे बसेको पहिलो बैठकमा प्रतिनिधिसभाबाट पारित भएर सन्देशसहित आएको सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक र सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक टेबुल गरियो । आधा घण्टाका लागि स्थगित गरियो । सांसदहरूले सैद्धान्तिक छलफलमा भाग लिन दुवै विधेयकको तीनमहले खोजे, तर प्राप्त भएन । राष्ट्रिय सभा सचिवालयले सम्बन्धित मन्त्रालयसँग तीनमहले माग्यो । तत्काल प्राप्त नहुने भएपछि शुक्रबार ११ बजे बस्ने गरी दोस्रो बैठक स्थगित भयो ।

सुझावित समाचार