राजावादीहरूबिचमै दूरी बढ्दै

बुधबार, ५ चैत, २०८१
डिजिटल संस्करण

राप्रपाले पूर्वपञ्चनेता सुवेदी नेतृत्वको समितिबाट आफूलाई अलग्यायो, आफ्नै नेतृत्वमा आन्दोलन गर्ने तयारी

पूर्वपञ्चनेता नवराज सुवेदी नेतृत्वमा गठित ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’बाट राप्रपा पूर्णतः बाहिरिएको छ । उक्त समितिको स्वामित्व नलिने, बरु आफ्नै नेतृत्वमा आन्दोलन गर्ने राप्रपाको निर्णय छ । आन्दोलनका लागि राप्रपाले समान विचार भएका व्यक्ति, समूह र दलसँग पारस्परिक एकता, संवाद र सहकार्यका लागि पहलकदमी लिने निर्णय पनि लिएको छ । 

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको प्रस्तावमा उनको नेतृत्वमा आन्दोलन परिचालन मूल समितिको बैठकले १२ चैतमा आन्दोलनका कार्यक्रम घोषणा गर्ने निर्णय गरेको छ । मंगलबार बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा पार्टी वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणाको आलोचना भएको छ । यी दुई नेता सुवेदी नेतृत्वको समितिमा छन् । 

बैठकमा अध्यक्ष लिङ्देनले सुवेदी नेतृत्वको समिति गठन प्रक्रिया र पार्टी नेताहरूको आफूखुसी सहभागिताको विरोध गरेका थिए । एक नेताका अनुसार लिङ्देनले सुवेदीद्वारा बोलाइएको बैठकमा पार्टीका आधिकारिक प्रतिनिधिका रूपमा नेताद्वय हेमजंग गुुरुङ र प्रदीप उदयलाई पठाएका थिए । तर, उनीहरूलाई कसैले नसोधेको, बरु शीर्ष नेताहरू लावालस्कर लागेर गएको भन्दै अध्यक्ष लिङ्देनले उनीहरूको आलोचना गरेका थिए । 

सुवेदीले बोलाएको बैठकमा पार्टी पूर्वअध्यक्षद्वय पशुपतिशमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी, वरिष्ठ उपाध्यक्ष मिश्र, पूर्वमन्त्री विक्रम पाण्डे, हरिबहादुर बस्नेत, दिलविकास राजभण्डारीलगायत थिए । ‘पार्टीले सुवेदी नेतृत्वको निर्देशन समितिको स्वामित्व लिन सक्दैन । यसमा म रहन्नँ भनिसकेको छु । पार्टीको निर्णयबाट मात्रै त्यसमा को रहने भन्ने कुरा हुन्छ, आफूखुसी रहन पाइँदैन,’ उनले बैठकमा भनेका थिए, ‘सुवेदी नेतृत्वको समिति कहाँबाट बनेको हो ? पार्टीको अस्तित्व रक्षाका लागि म एक्लै भए पनि लडिरहन्छु ।’ 

सुवेदी नेतृत्वको समिति गठनमा त्रुटि : डा. लोहनी
राप्रपा अध्यक्ष लिङ्देनले पार्टी महामन्त्री डा. धवलशमशेर राणा नेतृत्वको आन्दोलन परिचालन समिति आफूखुसी सक्रिय भएकोमा पनि असन्तुष्टि जनाए । उनले आन्दोलनको नेतृत्व आफैँले लिने भन्दै राणालाई जिम्मेवारीबाट पन्छाएको संकेत गरे । त्यसमा राणाले विरोध जनाएको एक नेताले बताए । 

पूर्वअध्यक्ष डा. लोहनीले सुवेदी नेतृत्वको समिति गठन हुँदा प्रक्रियागत त्रुटि भएको बताए । उनले दुर्गा प्रसाईंलगायतका व्यक्तिहरू रहेको समितिमा रहन स्पष्ट विधि–प्रक्रिया आवश्यक रहने पनि उल्लेख गरे । ‘त्यस्ता मानिसहरूलाई विश्वास गर्न सकिन्न । उनीहरूले हाम्रो हुर्मत लिए । त्यसैले म, पशुपतिजी, विक्रम पाण्डेजी सोमबार बैठककै बिचमा उठेर हिँड्यौँ,’ लोहनीले बैठकमा भने, ‘स्पष्ट आचारसंहिता बनाएर, सहीछाप गरेर मात्रै सर्वपक्षीय समिति गठन गर्नुपर्छ र सहभागिता त्यहीअनुसार हुनुपर्छ । पार्टीको नेतृत्वमा आन्दोलन हुनुपर्छ भन्ने मेरो मत छ ।’

बैठकको सुरुमै उठेर हिँडेका पार्टीका पूर्वअध्यक्ष पशुपतिशमशेर राणाले भनेका थिए, ‘पार्टीले गर्ने हरेक निर्णय मलाई स्वीकार्य छ ।’ 

वरिष्ठ उपाध्यक्ष मिश्रले भगवान्को कसम उल्लंघन हुने गरेको भन्दै आमाको कसम खाएर भने, ‘हिजो नवराज सुवेदीको नेतृत्वमा समिति गठन हुँदा प्रक्रियागत त्रुटि भएको स्वीकार गर्छु । तर, मैेले पार्टीलाई धोका दिने काम गरेको छैन र गर्नेछैन ।’ 

पार्टी नेता जयन्त चन्दले सक्रिय राजतन्त्रको परिकल्पनासमेत गर्न नसकिने उल्लेख गरे । उनले आन्दोलनको रोडम्याप के हो भन्नेबारेमा पूर्वराजा ज्ञानेन्द्र शाह आफैँले स्पष्ट पार्नुपर्ने पनि बताए । 

‘राप्रपाले राजसंस्था, हिन्दु राष्ट्रको पुनर्स्थापना, प्रदेश संरचनाको खारेजीलगायतका राजनीतिक, सामाजिक एवं सुशासन र जनजीविकाका विविध विषयमा काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानका पूर्वघोषित कार्यक्रमहरूलाई निरन्तरता दिनेछ,’ बैठकपछि राप्रपा प्रवक्ता मोहन श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘राप्रपाले आन्दोलन र संगठनलाई सँगसँगै लैजाने र आन्दोलनको घोषणापछि पार्टीका सबै गतिविधिहरू आन्दोलनकेन्द्रित गर्ने निर्णय लिएको छ ।’ 

राप्रपा नेपालले समितिलाई सघाउने
कमल थापा नेतृत्वको राप्रपा नेपाल केन्द्रीय कार्यसम्पादन समिति बैठकले नवराज सुवेदीको संयोजकत्वमा गठित संयुक्त जनआन्दोलन समितिलाई पूर्ण सहयोग गर्ने र त्यसमा सहभागी हुने निर्णय गरेको छ । समितिमा राप्रपाले उपाध्यक्ष तारानाथ लुइँटेललाई पठाउने निर्णय गरेको पार्टी महामन्त्री राजाराम बर्तौलाले बताए । समितिले आयोजना गर्ने आन्दोलनका सबै कार्यक्रममा तन, मन र धनले सहभागी हुन राप्रपा नेपालका सबै तहका निकाय र भ्रातृ संगठनलाई आह्वान गरेको छ ।

सुझावित समाचार