आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपाल एयरलाइन्स घाटामा हुनुको कारणबारे सरकारसँग प्रश्न सोधेका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद साहले अरू एयरलाइन्स नाफामा हुँदा नेपाल एयरलाइन्स मात्रै किन घाटामा गयो भनेर प्रश्न सोधेका हुन् ।
‘अरू एयरलाइन्सले नाफा गर्ने, तर सरकारको नेपाल वायुसेवा निगम घाटामा जाने, नेपाल एयरलाइन्सले आफ्नो जहाज उडाउनै सकेको छैन । वर्षौँदेखि ती जहाजहरू थन्क्याइएको छ । आन्तरिक उडानका लागि भनेर चीनबाट ल्याइएका पाँचवटा जहाज थन्क्याएर राखिएको छ । ती जहाजलाई कि उडाउनुपर्याे, कि व्यवस्थापन गर्नुपर्याे । यत्तिकै ती जहाज थन्क्याएर सरकारले के सन्देश दिन खोजेको हो ?’ साहले प्रश्न गरे ।
अहिले नेपाल वायुसेवा निगमले कि त जहाज नै नउडाउने र उडाए पनि फुलफेजमा नउडाएको साहको आरोप छ । उनले नेपाल एयरलाइन्सले जहाज उडाउनैपर्याे भने पनि यात्रु नपाउने (चाप नभएको) ठाउँबाट उडाउने गरेको भन्दै आलोचना गरे । उनले नेपाल एयरलाइन्सको बेथितिबाट सरकारलाई राम्रै लाभ आएको हुन सक्ने आशंका व्यक्त गरे ।
‘यो सरकारले नेपाल एयरलाइन्सलाई डुबाएर कसलाई सेवा गर्न चाहेको हो ? हामीलाई जवाफ चाहियो ?’ उनले प्रश्न गरे । आज नेपाल वायुसेवा निगममा दुईथरीका मान्छे हाबी भएको भन्दै एकथरी एयरलाइन्सलाई राम्रोसँग सञ्चालन गर्नेहरू पनि रहेको, तर अर्को समूह नेपाल एयरलाइन्सलाई आफ्नो स्वार्थमा बेच्नेहरू पनि रहेको टिप्पणी उनले गरे ।
उनले यसबारे सरकारको पोजिसन के हो भनेर प्रश्न सोधेका छन् । ‘यो सरकार कता हो ? एयरलाइन्स डुबाउन चाहेको हो कि बढाउन चाहेको ? नेपाल वायुसेवा निगमबाट फाइदा लिन चाहेको हो कि यसलाई बिक्री गरेर निजी वायुसेवा कम्पनीहरूबाट लाभ लिन चाहेको हो ?’ आजपा अध्यक्ष साहले प्रश्न गरे । उनले नेपाल वायुसेवा निगमले अहिले अन्तर्राष्ट्रिय फ्लाइटमा जम्मा चारवटा जहाजमार्फत उडान भरेको सुनाए । तर, वायुसेवा निगमसँग १५ सय कर्मचारी रहेको तथ्यांक पेस गरे ।
उता, निजी सेवा प्रदायक हिमालयन एयरलाइन्सले पनि चारवटा जहाज उडान गर्ने, तर कर्मचरी पाँच सय मात्रै रहेको साहले सुनाए । यस्तै, बुद्ध एयरले १६ वटा जहाज उडाउने गरेको र सातदेखि आठ सय मात्रै कर्मचारी रहेको र यती एयरलाइन्सले पनि १४ वटा जहाज उडाउँदा सात सय कर्मचारी रहेको तथ्यांक पेस गर्दै नेपाल वायुसेवा निगममा कर्मचारी धेरै राखिएको, तर त्यसको उपयोग नगरिएकोमा प्रश्न उठाए ।
उनले नेपाल वायुसेवा निगममा भएको अहिलेको बेथितिको विषयमा कोसँग जवाफ माग्ने भन्दै प्रश्न तेर्स्याए । उनले नेपालको गौरवको रूपमा नेपाल वायुसेवा निगमको राम्रो होस् भन्ने चाहेको र यसले नाफा गरोस् भन्ने चाहेको पनि आफ्नो मत राखे । उनले प्रविधि र जहाजको कमी रहेको पनि आवश्यकता औँल्याए ।
उनले नियमित मर्मतसम्भार सी–चेक लगायतमा ठुलो हिनामिना भएको हुन सक्ने र महिनौँसम्म जहाज मर्मतसम्भारका लागि थन्किँदा ठुलो घाटा व्यहोर्नुपर्ने अवस्थाको अन्त्य चाहे । उनले जहाजहरूको सी–चेक नेपालमा किन हुन नसकेको हो भन्नेबारे पनि सरकारसँग जवाफ मागे । उनले हवाईभाडा बढाइएको विषयमा पनि आपत्ति जनाए । हवाईभाडा नियन्त्रण गर्न सरकार किन असफल भएको भन्दै उनले प्रश्न उठाए । साथै उनले विदेशमा कर्मचारीको हुने पोस्टिङमा समेत हुने गरेको अनियमितताबारे प्रश्न उठाउँदै नेपाल एयरलाइन्सलाई युरोपियन युनियनले कालोसूचीमा राखेकोमा त्यसबारेमा सरकारले के गरिरहेको छ भन्नेबारेमा जवाफ माग गरेका छन् ।