अत्यधिक दोहन तथा चोरी निकासीले कर्णाली प्रदेशका विभिन्न जिल्लाका लेकाली वन क्षेत्रमा पाइने बहुमूल्य जडीबुटी लोप हुँदै गएको छ । जलवायु परिवर्तन, आगलागी, लोपोन्मुख जडीबुटीको खेती प्रविधिको अभाव, अत्यधिक दोहन तथा चोरी निकासीका कारण जडीबुटी लोप हुँदै गएको हो । गाउँनजिकैका वन क्षेत्रमा पाइने वनचोतेसमेत लोप भएको स्थानीयको भनाइ छ । झाडापखाला लागेमा वनचोते दुधमा पकाएर खुवाए निको हुने जनविश्वास छ । शुभकालिका गाउँपालिका– ४ का डम्बर शाहीले परापूर्वकालदेखि वन क्षेत्रमा पाइने महत्वपूर्ण जडीबुटी संरक्षण नहुँदा लोप हुने अवस्थामा रहेको बताए । ‘पहिले–पहिले अस्पताल नहुँदा गाउँमा पहिले जडीबुटीकै भर थियो । कतिपय धामीझाँक्रीकहाँ जान्थे । अहिले गाउँगाउँमा मेडिकल खुले । व्यापारीले गाउँमा जडीबुटी नै लोप बनाइसके । अब त खोजे पनि नपाइने अवस्था छ,’ उनले भने ।
सरकारको प्राथमिकतामा परेका ३३ प्रजाति जडीबुटीमध्ये कर्णालीमा २७ प्रजातिका जडीबुटी पाइन्छन् । ‘कालिकोटको जडीबुटीलाई व्यवसायीकरण गर्न सकिए यहाँको आर्थिक समृद्धिको मुख्य आधार बन्ने निश्चित छ,’ डिभिजन वन कार्यालय कालीकोटका कार्यालय प्रमुख महेश कुमाईले भने । कालिकोटबाट ६४ प्रजातिका जडीबुटी व्यापारिक प्रयोजनाका लागि निर्यात हुने गरेका छन् । जसबाट बर्सेनि २२ देखि ३० लाखसम्म राजस्व संकलन हुँदै आएको छ । कुमाईका अनुसार यस वर्ष २० प्रतिशतले निर्यातमा वृद्धि भएको छ ।
कर्णालीका १० वटै जिल्लामा दर्जनौँ प्रजातिका जडीबुटी पाइन्छन् । ‘कर्णाली जटीबुटीको हिसाबले धनी प्रदेश हो । तर, संकलन तथा प्रशोधन उद्योगहरू नहँुदा बाहिर निकासी हुन्छ,’ प्रदेश वन निर्देशनालयका निर्देशक शेरबहादुर श्रेष्ठले भने । कर्णालीमा यार्सागुम्बा, टिमुर, सतुवा, पाखनवेद, पदमचाल, सिताल्चिनी, डाले चुक, चिराइतो, कयर, कुरिलो, कटुको, बायजडी, बोजोलगायत प्रजातिका जडीबुटी पाइन्छ । संघीय सरकारको जडीबुटी विकास कार्यक्रमअन्तर्गत जडीबुटी खेती विस्तार, खेती क्षेत्र निर्धारण, पकट क्षेत्र निर्धारण, भण्डारण केन्द्र र प्रशोधन केन्द्र निर्माणका लागि अनुदानका कार्यक्रम सञ्चालनमा छन् ।
बनेका संरचना पनि प्रयोगविहीन
सुर्खेतमा नौ वर्षदेखि निर्माणाधीन जडीबुटी संकलन तथा प्रशोधन व्यवसाय केन्द्र अझै पूरा भएको छैन । सुर्खेत उद्योग वाणिज्य संघले जडीबुटी संकलन, प्रशोधन तथा व्यवसाय केन्द्र सञ्चालनका लागि बाहिरी पूर्वाधार तयार गरे पनि बाँकी काम नहुँदा प्रयोगविहीन छ । काँक्रेविहार संरक्षित क्षेत्रको सीमासँगै जोडिएको करिब सात कट्ठा जग्गामा बनेको संरचना उद्देश्यअनुसार सञ्चालनमा आउन सकेको छैन ।
सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले काँक्रेविहार संरक्षित क्षेत्रको सीमासँगै जोडिएको करिब सात कट्ठा जग्गामा बनेको जडीबुटी संकलन, प्रशोधन तथा व्यवसाय केन्द्रमा पार्किङ निर्माण र बोरिङको काम छिट्टै थालनी हुने बताए । ‘ती काम सम्पन्न भएपछि चाँडै सुर्खेतमा कर्णाली प्रदेशका १० वटै जिल्लाबाट आयात हुने जडीबुटीहरू संकलन गर्ने, प्रशोधन गर्ने, ग्रेडिङ गर्ने र निर्यात गर्ने योजना छ,’ उनले भने । ०६८ बाट प्रशोधन केन्द्र निर्माण सुरु भएको हो । संरचना निर्माणमै उद्योग वाणिज्य संघले एक दशकभन्दा बढी समय खर्चिएको छ । पूर्वाधार निर्माणका लागि निजी तथा साझेदारी मोडलमा करिब चार करोड रुपैयाँ खर्च भएको छ ।
निजी लगानीमा जडीबुटी संकलन गर्ने गरिए पनि जडीबुटी संकलन तथा भण्डारण केन्द्र नहुँदा सड्ने र गुणस्तर कायम गर्न निकै चुनौती भएको व्यवसायीहरू बताउँछन् । ‘गाउँबाट संकलित जडीबुटीहरू बजारसम्म पुर्याउँदा कौडीको भाउमा बिक्री गर्नुपर्ने बाध्यता छ,’ व्यवसायी धीरेन्द्र थापाले भने, ‘गाउँमा संकलन गरिएका राम्रो जडीबुटी यातायात असुविधाका कारण बजारसम्म पुर्याउन समय लाग्छ । कतिपयको त गुणस्तर नै बिग्रिन्छ । बजारमा पनि जडीबुटी भण्डारण गर्ने ठाउँ छैन । भनेका वेला बिक्री हुँदैन । कौडीको भाउमा बिक्री गर्नुपर्छ ।’
कर्णालीका व्यवसायी नेपालगन्ज हुँदै भारततर्फ सस्तो मूल्यमा जडीबुटी बिक्री गर्न बाध्य छन् । जडीबुटी संकल तथा प्रशोधन केन्द्र सञ्चालनमा आएपछि कर्णालीका जडीबुटी व्यवसायीलाई सहज हुने र सुर्खेतमै संकलन र प्रशोधन कार्य भएपछि जडीबुटीको ग्रेडिङसहित प्रशोधन गरी बजारीकरणमा सहज हुने व्यवसायीहरूको भनाइ छ । आयातमुखी बजार अर्थतन्त्रलाई निर्यातमुखी बनाउने मुख्य लक्ष्यअनुसार प्रशोधन केन्द्र सञ्चालन गर्ने उद्देश्य राखिएको सुर्खेत उद्योग वाणिज्य संघले जनाएको छ ।