सप्तरीको राजविराजस्थित एक गोदाममा ठुलो परिमाणमा गाँजा फेला परेको छ । राजविराज नगरपालिका– ९ स्थित बाबा भुतनाथ मन्दिर छिर्ने गेटको छेउको घरमा रहेको गोदाममा प्रहरीले छापा हान्दा सय बोराभन्दा धेरै गाँजा भेटिएको हो ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार गोदाममा शंकास्पद सामग्री अनलोड गरिरहेको देखेपछि शंका लागेर जाँचबुझ गर्दा त्यहाँ गाँजा भेटिएको हो । सो गोदाममा सञ्चालक फरार भएका छन् ।

गोदामभित्र सिट नभएको एउटा स्कर्पियो गाडी पनि फेला परेको छ ।
गाँजासँगै गोदाममा अन्य वस्तुहरू रहेको र यकिन गर्ने कार्य भइरहेको सप्तरीका एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए । गोदाममा दुई हजार किलोभन्दा बढी गाँजा रहेको आकलन छ। सो गोदामबाट चिनियाँ स्याउलगायत सामान पनि तस्करी हुने गरेको आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
