अमेरिका र युक्रेनबिचको वार्ताले धेरै कुराको पाठ सिकाएको छ : महासचिव पोखरेल

शनिबार, १७ फागुन, २०८१
डिजिटल संस्करण

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले हरेक राष्ट्रले आफ्नो राष्ट्रिय हितका लागि छिमेकसँगको सम्बन्धलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्। अमेरिका र युक्रेनबिच अमेरिकामा भएको प्रत्यक्ष वार्ताले धेरैलाई धेरै कुराको पाठ सिकाएको उल्लेख गर्दै उनले  छिमेकीसँगको सम्बन्ध बिग्रँदा ठुला र शक्तिशाली देशहरूले पनि दुःख पाउनुपर्ने उल्लेख गरे। 

अमेरिका र युक्रेनबिच अमेरिकामा भएको प्रत्यक्ष वार्ताबारे सामाजिक सञ्जाल फेसबुकमा आज आफ्नो धारणा राख्दै उनले भनेका छन्, ‘छिमेकविरुद्ध बाहिरबाट प्राप्त हुने सहयोग अस्थायी र कतिपय अर्थमा स्वार्थ आधारित हुँदोरहेछ, आज रुस र युक्रेन दुवैका लागि युद्ध घाँडो भएको छ। तर, युद्ध अन्त्यका लागि उनीहरूले निकै ठुलो मूल्य चुकाउनुपर्ने अवस्था देखिँदै छ।’ शान्ति र स्थायित्वका लागि अब हरेक देशले सोच्नुपर्ने उल्लेख गर्दै उनले क्षेत्रीय शान्तिविना विश्वशान्ति सम्भव नहुने बताए।

एसियाली देशहरूले आपसी सम्बन्धको विकासमा जोड दिने हो भने एसिया विश्व सभ्यताको केन्द्रका रूपमा पुनर्स्थापित हुने अवस्था भएको उनकाे भनाइ छ। 

‘अमेरिकाको पछिल्लो रणनीतिले अबको एसिया नै भू–राजनीतिको द्वन्द्वको केन्द्र बन्न सक्ने संकेत गर्दछ, गाजा क्षेत्र प्यालेस्टानीहरूबाट खोस्ने योजनाले त्यसकै संकेत गर्दछ, साथै रुस र युक्रेनबिचको युद्ध अन्त्यका नाममा भएको अमेरिकी प्रयास विश्वशान्तिको उद्देश्यसँग जोडिएको देखिएन, त्यसको केन्द्रमा खनिज सम्पदाको प्राप्ति मुख्य चासोको विषय बन्न पुगेको छ।’ 

महासचिव पोखरेलले स्वार्थपरक नीतिले अन्ततः आर्थिक स्वार्थ आधारित नयाँ प्रकारको भू–राजनीतिक द्वन्द्वको विकास गर्ने धारणा व्यक्त गर्दै प्रकारको परिस्थितिबाट एसियाली राष्ट्रहरू विशेष ढंगले सचेत बन्नुपर्ने आवश्यकता औँल्याए। 

सुझावित समाचार