तेस्रो बृहत् दोलखा महोत्सवको अवसरमा खुला ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । मेला–महोत्सवसहित खेल क्षेत्रको समेत विकास गर्ने उद्देश्यले आयोजना गरिएको ब्याडमिन्टन प्रतियोगिता बिहीबारदेखि सुरु भएको हो ।चरिकोटस्थित भीमेश्वर ब्याडमिन्टन कभर्डहलमा सुरु भएको प्रतियोगिताको भीमेश्वर नगरका नगर प्रमुख ईश्वरनारायण मानन्धरले उद्घाटन गरेका थिए ।
नगर प्रमुख मानन्धरले खेल क्षेत्रको विकासले नै सिंगो समाजको विकास हुने बताउँदै खेललाई मनोरञ्जनको रूपमा मात्रै नलिन युवा तथा खेलाडीहरूलाई आग्रह गरेका छन् । उनले पछिल्लो समयमा नेपालले खेलकुदमार्फत राम्रो प्रस्तुति राखेकाले देशको नामलाई अगाडि ल्याउन सफल रहेको भन्दै जिल्लामा पनि त्यस्ता प्रतिभा निकाल्नका लागि विभिन्न समयमा खेलहरूको आयोजना गर्नु आजको आवश्यकता रहेको बताए ।
उनले दोलखा उद्याेग वाणिज्य संघलाई महोत्सव सफलताको शुभकामना दिँदै खेलाडीहरूलाई खेल अनुशासित, मर्यादित, संयमित र उत्साहित भएर खेल्न आग्रह गरे । प्रतियोगितामा खुलातर्फ १६ टिम, भेट्रान सात टिम र अन्डर– १५ गरी ३५ वटा टिमको सहभागिता रहेको छ। जसमा ४५ वर्षभन्दा माथि र १५ वर्षमुनिका खेलाडीहरूलाई छुट्टाछुट्टै विधामा प्रतियोगिताको आयोजना गरेको छ। गत ६ देखि सुरु भएको महोत्सव आउँदो फागुन १८ गतेसम्म चल्ने संघका सचिव प्रवीण श्रेष्ठले जानकारी दिए ।
प्रतियोगिता उद्घाटन समारोहमा दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष ईन्द्रबहादुर श्रेष्ठ, महासचिव सुरेश उप्रेती, सचिव प्रवीण श्रेष्ठ, खेलकुद विकास समिति दोलखाका अध्यक्ष आशिष घिसिङ, नेपाल उद्योग वाणिज्य संघका निवर्तमान केन्द्रीय सदस्य रामेश्वर मानन्धर, ब्याडमिन्टन संघका अध्यक्ष सागर श्रेष्ठलगायतले आ–आफ्नो धारणा राखेका थिए ।
महोत्सवमा हालसम्म लगभग एक करोडबराबरकाे कारोबार भएको आयोजक संस्था दोलखा उद्योग वाणिज्य संघले जनाएको छ ।