जलनको उपचारमा भौतिक पूर्वाधार अभाव

सोमबार, १२ फागुन, २०८१
डिजिटल संस्करण
  • प्रदेश तहमा बजेट छुट्याइयो, तर बनेनन् जलन वार्ड, बिरामीलाई काठमाडौं नै धाउनुपर्ने बाध्यता
  • वार्षिक ५५ हजारमा जलनको समस्या, तर कीर्तिपुर, वीर र सुष्मा कोइरालामा मात्रै जलन आइसियू


नेपालमा जलनका घटना बढ्दै जाँदा यसको उपचार हुने अस्पतालको संख्या भने सीमित छ । हाल कीर्तिपुर बर्न अस्पताल, त्रिवि शिक्षण (टिचिङ), कान्ति, पाटन, वीर र सुष्मा कोइराला मेमोरियल अस्पतालमा जलनको उपचार हुने गरेको छ । तर, त्यसमध्ये सबैभन्दा बढी भार कीर्तिपुर बर्न अस्पताललाई छ । अन्य अस्पतालमा जलनको उपचार भरपर्दो नभएको भन्दै बिरामी कीर्तिपुरमै जाने गरेका छन् । सरकारले कीर्तिपुर जाने बिरामीको संख्या बढी भएकाले अस्पताललाई गत असोजमा दुई करोड रुपैयाँ दिएको थियो । भवन बनाउन थप पाँच करोड दिने सरकारको तयारी छ । 

८० प्रतिशतभन्दा बढी जलनका बिरामी कीर्तिपुरमै जाने गरेका छन् । कीर्तिपुर अस्पतालका निर्देशक डा. किरण नकर्मीले जाडोयाममा जलनका घटना बढी हुने भएकाले बिरामी संख्याअनुसार अस्पतालको भौतिक अवस्था साँघुरो भएको बताए । नकर्मीका अनुसार कीर्तिपुर अस्पतालले वार्षिक हजार जलनका गम्भीर प्रकारका बिरामीको उपचार गर्दै आएको छ ।

जलनका बिरामीको उपचार हुने अस्पतालमध्ये तीनवटा अस्पतालमा मात्रै आइसियू छ । कीर्तिपुर अस्पतालमा सयमध्ये १३ वटा आइसियू बेड छन् । सुष्मा कोइरालामा ५० मध्ये सात र वीरमा १५ मध्ये पाँचवटा आइसियू बेड छन् । अन्य अस्पतालमा गम्भीर बिरामीको उपचारका लागि आइसियू छैन । जलन उपचार अभियन्ता उज्ज्वलविक्रम थापाले सरकारले विपन्न बिरामीका लागि पाँच लाखसम्मको निःशुल्क सेवा दिनुपर्ने बताए । 

०८१/८२ मा हरेक प्रदेशमा बर्न वार्ड विस्तारको योजना बनाइएको थियो । सातै प्रदेशमा बर्न अस्पताल तथा वार्ड विस्तारका लागि एक–एक करोड विनियोजन पनि भयो । तर, प्रादेशिक तहमा जलनको उपचार सेवा दयनीय छ । प्राथमिक उपचार सेवासमेत प्रदेश तहमा नभएको भन्दै बिरामी केन्द्रमै धाउने गरेका छन् । तर, केन्द्रमा समेत जलनको उपचार सहज बनाउन कठिन भइरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए । 

ललितपुरको पाटन अस्पतालमा रहेको जलन वार्डको अवस्था दयनीय छ । जम्मा ६ वटा बेड रहेको अस्पतालमा जलनका लागि छुट्टै आइसियू छैन । एकजना प्लास्टिक सर्जन भए पनि गम्भीर प्रकारका बिरामी नै उपचारका लागि जाँदैनन् । दिनमा एक–दुईजना जलनका बिरामी आउँछन् । कहिलेकाहीँ त बिरामी नै आउँदैनन् । यहाँ आउने अधिकांश बिरामी सामान्य किसिमका रहेको अस्पतालले जनाएको छ । बिरामी नआएपछि अस्पतालले जलन वार्डमा दिउँसै ताला लगाएर राख्ने गरेको छ । ‘बिरामी नभएपछि ताला लगाइएको हो, उपचारका लागि ६ वटा बेड छन्, तर जलनको छुट्टै आइसियू छैन,’ अस्पतालका निर्देशक डा. रवि शाक्यले भने । त्रिवि शिक्षण अस्पतालको जलन वार्डको अवस्था पनि विजोग छ । यहाँ नौवटा जलन बेड छन् । ६ जना प्लास्टिक सर्जन भए पनि बिरामी नै आउँदैनन् । एक वर्षमा टिचिङमा ६८ जनाले जलनको उपचार सेवा लिएका छन् । 

पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नेपालको सबैभन्दा पुरानो जलन वार्ड छ । जहाँ पाँचवटा बेडसहितको उपचार सेवा छ । तर, जलनका गम्भीर अवस्थाका बिरामीलाई राख्ने डेडिकेटेड आइसियू भने छैन । अस्पतालमा जलनको उपचारका लागि प्लास्टिक सर्जन डा. पियुष गिरी छन् । तर, पूर्वाधार बलियो नहुँदा विशेषज्ञ चिकित्सक भएर पनि पोखरावासीले जलनको भरपर्दो उपचार सेवा पाउन नसकेकोे सूचना अधिकारी सुनीलकुमार अर्यालले जानकारी दिए । 

वीरमा आइसियूसमेत छ, तर बिरामीलाई थाहा छैन
गत २९ भदौमा वीर अस्पतालमा पाँच आइसियू र दुई शल्यक्रिया कक्षसहित १५ शड्ढयाको जलन उपचार केन्द्र स्थापना भएको थियो । तर, उपचार गर्न आउने बिरामी न्यून छन् । बिरामीलाई उपचार सेवाबारे थाहा नहुँदा कम आउने गरेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालमा सघन र शल्यक्रिया उपचार सेवासहितको जलन उपचार केन्द्र छ । तर, पर्याप्त बिरामी नआउँदा यहाँका बेड खाली छन् । अस्पतालले उपलब्ध गराएको तथ्यांकअनुसार ६ बिरामीको जनरल बेडमा उपचार भइरहेको छ ।  

सुष्मा कोइराला अस्पतालमा सुविधा छ, तर बिरामी जाँदैनन्
कीर्तिपुर बर्न अस्पतालपछि जलन उपचारका लागि भरपर्दो मानिएको सुष्मा कोइराला मेमोरियल अस्पतालमा सय शड्ढया छन् । चारवटा आइसियू र कर्मचारी संख्या ९९ जना छन् । त्यसमध्ये चारजना जलनका विशेषज्ञ चिकित्सक छन् । तर, उपचारका लागि आउने बिरामीको संख्या भने तुलनात्मक रूपमा कम छ । सुविधासम्पन्न यो अस्पतालमा बिरामीको संख्या कम हुँदा त्यसको असर कीर्तिपुरमा परेको छ । ‘हामीकहाँ बिरामीको चाप छ, यदि अन्य ठाउँमा पनि अस्पताल छ भन्ने थाहा भएको भए यहाँ बिरामीको चाप केही कम हुन सक्थ्यो,’ डा. नकर्मीले भने । ६ वर्षयताको तथ्यांक हेर्दा सुष्मा कोइराला अस्पतालले दुई हजार १२८ जना गम्भीर प्रकारका बिरामीको उपचार गरेको छ । सन् २०१९ मा ३७७, २०२० मा ३४६, २०२१ मा ३३३, २०२२ मा ३६८, २०२३ मा ३०६ र २०२४ मा ३९८ जना बिरामीको उपचार भएको छ । 

कान्तिमा जलनसम्बन्धी आइसियूका लागि ल्याइएको सामान थन्कियो
कान्ति बाल अस्पतालमा जलन उपचारका लागि १२ वटा जनरल बेड छन् । यहाँ दैनिक चार–पाँचजना बिरामी उपचार गर्न आउँछन् । तर, जलनका बिरामीका लागि डेडिकेटेड आइसियू नभएको सूचना अधिकारी रमेशनरसिंह केसीले जानकारी दिए । उनका अनुसार जलनका बिरामीको उपचारका लागि चाहिने आइसियू निर्माणका लागि उपकरण ल्याइसकिए पनि जडान भएको छैन । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार हरेक वर्ष नेपालमा ५५ हजारजनामा जलनको समस्या हुन्छ । त्यसमध्ये दुई हजारको मात्रै ठुला अस्पतालमा उपचार हुन्छ भने कतिपय बिरामी उपचार नपाएर ज्यान गुमाउने गरेका छन् ।

 कुन अस्पतालमा वार्षिक कति बिरामीको उपचार ? 
एक वर्षमा पाटन अस्पतालले २७, सुष्मा कोइराला मेमोरियल अस्पतालले ३९८, कान्ति बाल अस्पतालले ७८, टिचिङमा ६८ र वीर अस्पतालले ५० जना बिरामीको मात्रै उपचार गरेको छ । कांग्रेस सांसद चन्द्र भण्डारीले नेपालमा छुट्टै जलन उपचार हुने अस्पताल बनाउने घोषणा गरिए पनि व्यवहारमा लागू नभएको बताए । ‘जुन दिन म जलनमा परेको थिएँ, त्यतिवेला सरकारले नेपालमा एउटा जलन अस्पताल बनाउने निर्णय गरेको थियो,’ उनले भने, ‘धेरैपटक यसबारे छलफल भयो, कुरा गर्दागर्दा र आग्रह गर्दागर्दा चौधरी गु्रपले अस्पताल बनाइदिने भनेको छ ।’ दुई वर्षअघि सरकारले कीर्तिपुरकै अस्पतालकै साइटमा सेवा विस्तार गर्ने गरी अर्को भवन निर्माण गरेको थियो । 

 जलनसम्बन्धी विधेयक पारित गर्न माग
रास्वपा सांसद विन्दवासिनी कंसाकारले जलनसम्बन्धी विधेयक पारित गर्न माग गर्दै आइरहेकी छिन् । उनले गत आइतबार बसेको प्रतिनिधिसिभा बैठकमा जलन उपचारमा गम्भीर हुन अनुरोध गर्दै विधेयक अघि बढाउन माग गरेकी थिइन् । उक्त विधेयक सात महिनाअघि संसद्मा दर्ता भएको थियो । सांसद कंसाकारले ‘जलन उपचार केन्द्र स्थापना गर्नुपर्ने र आवश्यक स्रोतसाधन, दक्ष जनशक्ति तथा आपत्कालीन उद्धार प्रणालीमा व्यवस्थापन गर्नुपर्ने बताइन् । 

डा. प्रकाश बुढाथोकी, प्रवक्ता, स्वास्थ्य मन्त्रालय
सबै प्रादेशिक तथा भइरहेका संघीय अस्पतालमा जलन वार्ड स्थापनाका लागि एक–एक करोड बजेट छुट्याइएको छ, तर कार्यान्वयन भएको छैन । नेपालमा जलनको उपचारको निम्ति प्लास्टिक सर्जनको समेत समस्या छ । सरकारले कीर्तिपुर अस्पताललाई विशिष्टीकृत उपचार सेवा भएको अस्पतालका 
रूपमा थप विकास गर्न खोजिरहेको छ ।

डा. किरण नकर्मी, निर्देशक, कीर्तिपुर अस्पताल
यहाँ देशैभरका बिरामी आउँछन्, तर संरचनाले थेग्न सक्दैन । सयमध्ये सबै बेडमा जलनको उपचार गर्न सम्भव पनि छैन । जलनका बिरामीको चाप खेपिरहँदा यो अस्पताल प्राथमिकतामा पर्नुपर्ने हो । कीर्तिपुर अस्पतालले वार्षिक हजार जलनका गम्भीर प्रकारका बिरामीको उपचार गर्दै आएको छ ।

 डा. समाज गौतम, निमित्त निर्देशक, वीर अस्पताल
वीरको जलन उपचार कक्षबारे आममानिसलाई थाहा नहुँदा कम बिरामी आउने गरेका छन् । यसअघि यहाँ बर्न उपचार थिएन, अहिले पनि त्यही सोचेर धेरै बिरामी आउनुहुन्न । तर, यहाँ आइसियूदेखि उच्च किसिमको उपचार सेवा छ ।

रमेशनरसिंह केसी, सूचना अधिकारी, कान्ति बाल अस्पताल
यहाँ जलनका बिरामी उपचार गर्न छुट्टै आइसियू छैन, उपकरणचाहिँ ल्याएका छौँ, तर जडान भएको छैन । अस्पतालमा जलनका विशेषज्ञ चिकित्सक पनि हुनुहुन्न, अप्ठ्यारो परेमा कीर्तिपुर रेफर गर्छौँ ।

उज्ज्वलविक्रम थापा
अभियन्ता

सरकारले विपन्न बिरामीका लागि पाँच लाखसम्मको निःशुल्क सेवा दिनुपर्छ । कीर्तिपुरसहित जलनको उपचार हुने सबै अस्पताललाई थप व्यवस्थित बनाउनु पर्यो । समयमै उपचार सेवा पाउने हो भने जलनका धेरै बिरामीको ज्यान जोगिन सक्छ । 

 

सुझावित समाचार