गुल्मीमा ९९.७१ प्रतिशत बालिका र किशोरीले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाएका छन् । स्वास्थ्य कार्यालय गुल्मीका अनुसार २२ माघदेखि ६ फागुनसम्म सञ्चालन भएको खोप अभियानमा जिल्लाका १२ स्थानीय तहका १० हजार ८४३ बालिका तथा किशोरीले एचपिभी खोप लगाएका हुन् । कालीगण्डकी गाउँपालिकामा १००.८० प्रतिशतले खोप लगाएका छन् ।
लक्ष्य पाँच सय तीनभन्दा बढी पाँच सय सातजना बालिका तथा किशोरीले एचपिभी खोप लगाएको स्वास्थ्य कार्यालय गुल्मीमा सूचना अधिकारी जनस्वास्थ्य अधिकृत पशुपति आचार्यले जानकारी दिए । सत्यवती गाउँपालिकाका ९७.४४ प्रतिशत, मुसिकोट नगरपालिकाका १००.४९ प्रतिशत र इस्मा गाउँपालिकाका ९८.६७ प्रतिशत बालिका र किशोरीले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाएका छन् ।
त्यस्तै, आचार्यका अनुसार मालिका गाउँपालिकामा १००.९७ प्रतिशत, मदानेमा ९९.८१ प्रतिशत, धुर्कोटमा ९२.५० प्रतिशत, रेसुंगामा १०२.८ प्रतिशत, गुल्मीदरबारमा १००.६२ प्रतिशत, छत्रकोटमा ९९.७५ प्रतिशत र रुरुक्षेत्र गाउँपालिकामा १०२.३५ प्रतिशत बालिका र किशोरीले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाएको जनस्वास्थ्य अधिकृत आचार्यले बताए ।
स्वास्थ्य कार्यालय गुल्मीकी वरिष्ठ जनस्वास्थ्य अधिकृत पुष्पा थापाका अनुसार सामुदायिक र संस्थागत गरेर २१० विद्यालयका बालिका तथा किशोरी र विद्यालयको पहुँचबाहिर रहेका २४४ किशोरीलाई पनि खोप लगाइएको छ । कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने किशोरी र विद्यालयबाहिर भएका १० वर्षदेखि १४ उमेर समूहका किशोरीहरूले खोप पाएको वरिष्ठ जनस्वास्थ्य अधिकृत थापाले बताइन् ।