मुग्लिन–पोखरा सडकअन्तर्गत पृथ्वी राजमार्गको पूर्वी खण्डमा सडक विस्तार कार्य ७७.७ प्रतिशत भौतिक प्रगति भएको छ ।पूर्वी खण्डमा पर्ने ४१.४५ किलोमिटर दूरी सडकमध्ये ७२.१ किलाेमिटर सडक कालोपत्र गरिएको हो । त्यसमा ३४.५ चार लेन र ३.१ दुई लेन सडक कालोपत्र गरिएको हो ।
आयोजनाका अनुसार ४४ किलाेमिटर सडकमा दोस्रो (अन्तिम चरण) को कालोपत्र भएको छ । सोमा १५.६ चार लेन र १२.७३ किलोमिटर दुई लेन रहेको आयोेजनाको पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । पहिलो चरणमा ६ सेन्टिमिटर मोटाइको सडक कालोपत्र गरिएको थियो । दोस्रो चरणमा चार सेन्टिमिटर गरी कुल १० सेन्टिमिटरको सडक कालोपत्र हुनेछ । जिल्लाको आँबुखैरेनी गाउँपालिकाको मार्कीचोकबाट ‘डबल लेयर’को कालोपत्र कार्य अघि बढाउनाका साथै कालोपत्र नगरिएका स्थानमा पनि काम सुरु गरिएको उनले बताए ।
‘दुईतर्फी सडकमध्ये एकतर्फी कालोपत्र भई बाँकी रहेका अर्को सडक साइडमा पनि कालोपत्रको कार्य अघि बढाइएको छ,’ उनले भने, ‘जिल्लाको सदरमुकाम दमौली खण्डमा अहिले सडक विस्तार कार्यले गति लिइरहेको छ ।’ पृथ्वी राजमार्गको पूर्वी खण्डमा पर्ने आँबुखैरेनी–जामुने ०७७ माघ १७ गते चाइना कन्स्ट्रक्सन कम्पनी कर्पोरेसनले रु. ६ अर्ब २१ करोड ३१ लाखमा ठेक्का सम्झौता गरेको थियो ।
०८१ वैशाखसम्म काम सम्पन्न गर्ने गरी सम्झौता गरिएको थियो । हाल पुनः म्याद थप गरी निर्माण कार्यलाई निरन्तरता दिइएको छ । एसियाली विकास बैंक एडिबीको ऋण सहयोगमा चार लेनमा सडक विस्तार भइरहेको हो ।