धनगढीमा हुन लागेको सिप तथा रोजगार मेलामा सुदूरपश्चिमभरिका एक हजार युवालाई सिपमूलक तालिम दिइने भएको छ। मेला आयोजक धनगढी उपमहानगरपालिकाले प्रदेशका नौवटै जिल्लाका एक हजार ४० युवालाई आठवटा विधामा तालिम दिन लागिएको जनाएको छ।
४० दिनसम्म सञ्चालन हुने तालिममा सहभागिताका लागि प्रदेशभरिबाट चार हजार ८३० जनाले आवेदन दिएका थिए। त्यसमध्ये एक हजार ४० जनालाई छनोट गरिएको नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघका प्रदेश अध्यक्ष प्रमोद पाठकले जानकारी दिए।
महासंघको प्राविधिक सहयोग तथा धनगढी उपमहानगरको आयोजनामा धनगढीमा बिहीबारबाट सिप तथा रोजगार मेला सुरु हुँदै छ। नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मेला उद्घाटन गर्ने कार्यक्रम छ। तालिम धनगढीको खुलामञ्चमा सञ्चालन हुनेछ।
धनगढी उपमहानगरका प्रमुख गोपाल हमालले युवाहरूलाई रोजगार र उद्यमी बनाउन तालिम दिन लागिएको बताए। उनले बजारमा माग भएका विषयमा तालिम दिइने बताए। उनका अनुसार तालिम सकिएपछि स्वरोजगार बन्नेबारे अभिमुखीकरणसमेत सञ्चालन गर्ने तयारी छ। तालिम लिएकाहरूलाई रोजगारीमा सहयोग पुर्याउन रोजगारदाता र तालिम प्राप्त युवाबिच दुई दिनको अन्तर्क्रिया पनि गरिने नगरप्रमुख हमालले जानकारी दिए।
रोजगारीका अवसर पाउनका लागि दक्ष जनशक्ति तयार गर्ने, युवाहरूलाई दक्ष बनाई उद्यमी बन्न र स्टार्टअप व्यवसायका लागि उत्प्रेरित गर्ने उद्देश्यले मेला गर्न लागिएको उनको भनाइ छ। ‘प्रदेश र संघीय सरकारको सहयोगमा प्रत्येक वर्ष यस्ता तालिमहरू हुनुपर्छ, जसले दक्ष जनशक्ति उत्पादन गर्न सकियोस्,’ हमालले भने, ‘बजारमा केको आवश्यकता छ भनेर सर्भे गरेर तालिम दिइनुपर्छ।’
अटोमोबाइल, इलेक्ट्रोनिक, पेन्टिङ, मेकानिकल, निर्माण, आथित्य-सत्कार, सौन्दर्य, लेखा व्यवस्थापन, सूचना प्रविधि, आर्ट एन्ड क्राफ्ट डिजाइनिङलगायत विधामा सहभागी युवाहरूलाई नि:शुल्क रूपमा सिप सिकाइने उपमहानगरले जनाएको छ। तालिमले बजारमा आवश्यक दक्ष जनशक्ति तयार हुने मेलाका संयोजकसमेत रहेका पाठकले बताए।
तालिमले बजारमा आवश्यक दक्ष जनशक्ति आपूर्तिमा समेत सहयोग पुग्ने उपमहानगरले अपेक्षा गरेको छ। मेलाको तयारी पूरा भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।