सरकार ढाल्न बल लगाउनुपर्दैन, १७ महिनापछि आफैँ छोड्छु : प्रधानमन्त्री ओली

सोमबार, ५ फागुन, २०८१
डिजिटल संस्करण

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले सरकार कुनै पनि हालतमा नढल्ने दोहोर्याएका छन्। लुम्बिनी प्रदेश सभालाई सोमबार विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले १७ महिनापछि सत्ताहस्तान्तरण गर्ने र त्यो अवधिसम्म आफूले सरकार चलाउने बताए।

‘यो सरकार ढल्छ भन्ने हल्ला छ। यस्ता हल्ला नचलाए पनि हुन्थ्यो,’ उनले भने, ‘१७ महिनाजति पनि बाँकी छैन। सात महिना मैले सरकार चलाएँ, अब १७ महिना चलाउँछु। त्यसपछि देउवाजी (शेरबहादुर देउवा)लाई दिन्छु । त्यो डिक्लिएर छ।’

१७ महिनासम्म तोप हाने पनि सरकार नढल्ने प्रधानमन्त्रीको दाबी छ। ‘केपी ओलीलाई हराउन कुनै बल लागउनुपर्दैन,’ उनले भने, ‘आफैँ छोड्छु वेला पुग्यो भने।’ झन्डै दुईतिहाइको बहुमतको सरकार भएकाले नढल्ने र हस्तान्तरपछि देउवालाई सहयोग गर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो। कांग्रेस र एमालेबिच कुनै आशंका पनि नरहेको उनको दाबी छ।

साथै प्रधानमन्त्री ओलीले आफू कसैको पार्टी फुटाउनेतिर नलागेकोसमेत बताए। ‘हामी देश बनाउन लागेका छौँ, कसैको पार्टी फुटाउनतिर लागेका छैनौँ,’ उनले भने, ‘पार्टी कसैले बनाइदिने र फुटाइदिने भन्ने हुँदैन, चासो पनि छैन। आफ्नो पार्टी आफैँ बनाउने हो।’

उनले मुलुकमा सबैभन्दा ठुलो परिवर्तन ल्याउने २००७ सालको क्रान्ति नै रहेको बताए। मुलुकमा राजनीति गर्न नपाइने अवस्थाबाट अहिले सहज राजनीति गर्ने ठाउँमा पुगेको भन्दै त्यो नै मुलुकको ठुलो क्रान्ति भएको उनको भनाइ थियो। लोकतान्त्रिक इतिहासमा सो समय सबैभन्दा ठुलो दिन रहेकोसमेत उनले बताए।

देश अप्ठ्यारोमा पर्ने खतरामा रहेको प्रधानमन्त्रीले चिन्ता व्यक्त गरे। मुलुकको अर्थतन्त्र कमजोर बन्दै गएको भन्दै यसलाई समाधान गर्न पनि मुलुकका दुई ठुला पार्टीहरू मिलेर सरकार बनाएको बताए। ‘देश अप्ठ्यारोमा नपरीकन एमाले र कांग्रेस मिल्न चाहँदैनथे । अर्थतन्त्र ओरालो लाग्यो, युवा बिदेसिए,’ उनले भने, ‘आइटीमा  इन्डिया अगाडि गइसक्यो । हामी निकै पछि छौँ।’

साथै उनले तीनै तहका सरकारहरूबिच सहकार्य आवश्यक रहेकोसमेत बताए। एकले अर्कालाई साथ दिएर अघि बढ्नुपर्ने भन्दै उनले उत्पादनमा प्रविधिको प्रयोग गर्नुपर्ने बताए। कम खर्चमा बढी आम्दानी दिने गरी प्रविधिको विकास गर्ने उनको भनाइ थियो। ४० वर्षअघि चीन गरिब रहेको उदाहरण दिँदै प्रधानमन्त्री ओलीले सोअनुसारको विकास नेपालमा पनि गर्न सकिने दाबी गरे।

सुझावित समाचार