नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस–एमालेको नेतृत्व संविधान संशोधन गर्नेमा नभई संविधान उल्ट्याउनमा केन्द्रित रहेको बताएका छन्। ३०औँ जनयुद्ध दिवस तथा माओवादी केन्द्र जिरी नगरपालिकाको तेस्रो अधिवेशनलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो दाबी गरेका हुन्।
‘एमाले नेतृत्व र कांग्रेसका एकथरीले संविधानको प्रस्तावना र धारा–उपधारामा माओवादी नै माओवादी देख्ने गरेका छन्,’ उनले भने, ‘महिला, दलित, जनजाति, मधेशी, मुस्लिम, थारू आदि उत्पीडित समुदाय र क्षेत्रले पाएको अधिकार बढी भएको ठानेका छन्, त्यसैले उनीहरू संविधान संशोधन होइन, कुनै पनि बहाना गरेर यो संविधान उल्ट्याउन चाहन्छन्।’
दुईपटक संविधान मिचेर संसद् विघटन गरेको घटना यसकै उपज रहेको स्मरण गराउँदै प्रचण्डले अहिले पनि यो प्रवृत्ति र प्रयास नरोकिएको बताए। ‘मलाई सरकारबाट हटाउँदा संविधान संशोधनलाई मुख्य एजेन्डाको रूपमा अघि सारिएको थियो, तर अहिले आएर प्रधानमन्त्रीले नै ०८७ मा मात्रै संविधान संशोधन हुने भन्न थालेका छन्। यसबाट उनीहरू संविधान संशोधनमा इमानदार छैनन् भन्ने देखिन्छ,’ उनले भने।
विगतमा संसद् विघटन गर्दा लाखौँ जनतालाई सडकमा ल्याएर संघर्ष गरेपछि संविधान मिच्ने प्रयास असफल भएको उल्लेख गर्दै प्रचण्डले भने, ‘अहिले उनीहरूले चारैतिर घेरा हालेर संविधान च्यात्ने र जनताले पाएको अधिकार खोस्न खोजिरहेका छन्, तर हामी भने यसलाई अझै समृद्ध बनाउन र जनताका अधिकार थप्न चाहन्छौँ । प्रतिक्रियावादीहरूको षड्यन्त्रविरुद्ध जनतालाई एकताबद्ध गरेर संविधानको रक्षा र थप अधिकार सुनिश्चित गर्न चाहन्छौँ।’
आफूले तेस्रोपटक प्रधानमन्त्री हुँदा सुशासन, सामाजिक न्याय र समृद्धिको ऐतिहासिक अभियान थालनी गर्न पाएकोमा गर्व महसुस भएको प्रचण्डको भनाइ थियो। सामाजिक न्यायअन्तर्गत वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि सामाजिक सुरक्षा कोष कार्यान्वयन, मिटरब्याजपीडितलाई न्याय र नागरिकताविहीनलाई नागरिकता प्रदान गर्ने कानुन निर्माणलगायतका महत्त्वपूर्ण कामको थालनी आफूले गरेको उनले बताए।