नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल)का सेयरधनीले कुल २९ प्रतिशत लाभांश पाउने भएका छन् । कम्पनीको आइतबार सम्पन्न साधारणसभाले सेयरधनीलाई गत आवको मुनाफाबाट १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद रकम गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
सभाले लेखापरीक्षण प्रतिवेदनसहितको ०८१ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद–प्रवाह विवरण स्वीकृत गरेको छ । लाभांश वितरणपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब २६ करोड ८२ लाख ७० हजार नौ सय रुपैयाँ हुनेछ ।
साथै, सभाले अधिकृत पुँजी वृद्धि गरी २.२५ अर्ब पुर्याउने प्रस्ताव पनि स्वीकृत गरेको छ । कम्पनीले पुँजी वृद्धिमार्फत नेसनल पेमेन्ट स्विच, नेसनल तथा क्रस बोर्डर कारोबारका लागि थप भुक्तानी प्रणाली विकास गर्ने, जोखिम व्यवस्थापनलाई सुदृढ बनाउने र सञ्चालनमा रहेका पूर्वाधारको स्तरोन्नतिका लागि प्रयोग गर्ने जनाएको छ ।