चुलिँदै मूल्यवृद्धि

भदौमा ३.८६ प्रतिशत रहेको मूल्यवृद्धिदर मंसिरमा ६.०५ प्रतिशत पुग्यो

शनिबार, २७ पुष, २०८१
डिजिटल संस्करण

चालू आवको पाँच महिनामा गत आवको सोही अवधिको तुलनामा ४.४ प्रतिशतले मात्र रेमिट्यान्स बढ्यो, जब कि गत आवमा यस्तो वृद्धिदर  २७.६ प्रतिशत थियो

चालू आवको पाँच महिनामा ६ खर्ब ४० अर्ब ४३ करोडको रेमिट्यान्स भित्रिएको छ । गत आवको पहिलो पाँच महिनाको तुलनामा रेमिट्यान्स ४.४ प्रतिशतले मात्रै बढेको छ । गत आवको सोही अवधिमा ६ खर्ब १३ अर्ब २५ करोडको रेमिट्यान्स आएको थियो । यद्यपि, सो अवधिमा वृद्धिदर २७.६ प्रतिशत थियो । यसले रेमिट्यान्स वृद्धिदर घट्दै जाने जोखिम देखिएको छ । बढ्दो रेमिट्यान्सले बैंक तथा वित्तीय संस्थामा अधिक तरलता थुप्रिँदै गइरहेको छ । त्यसैले कर्जाको ब्याजदर सस्तो भएको हो । 

आगामी दिनमा रेमिट्यान्सको वृद्धिदर घट्दै जाने र पोहोरभन्दा कम रेमिट्यान्स भित्रिने अवस्था आएमा लगानीयोग्य पुँजीको जोखिम बढेर कर्जाको ब्याजदर पनि बढ्न सक्छ । त्यसैले अहिले सस्तो ब्याजदरमा कर्जा लिएर लगानी गर्ने अवसर रहेको राष्ट्र बैंकका अधिकारीहरू बताउँछन् ।  

बढ्दो आयात, घट्दो रेमिट्यान्स वृद्धिदर र चुलिँदो मूल्यवृद्धि दरले अर्थतन्त्र चलायमान हुने संकेत दिएको नेपाल राष्ट्र बैंकका अधिकारीहरूको आकलन छ । केन्द्रीय बैंकले शुक्रबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको पाँच महिनाको तथ्यांकअनुसार बाह्य क्षेत्रको सुविधाजनक स्थिति लामो समय कायम नरहने देखिन्छ । केन्द्रीय बैंकका आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले निजी क्षेत्रले सस्तो ब्याजदरको लाभ तत्काल उठाइसक्ने समय आएको बताए । उनले भने, ‘अब तत्काल निजी क्षेत्रले कर्जा लिएर लगानी बढाउन नसके अहिले पाइरहेको बाह्य क्षेत्रको सुविधा पछि पाउन नसक्ने जोखिम बढेको छ ।’

पोहोरको जस्तो रेमिट्यान्सको वृद्धिदर नरहेको, आयात बढ्दै गइरहेको र मुद्रास्फीति पनि चुलिँदै गइरहेकाले तत्काल लगानी गरेर लाभ उठाइहाल्नुपर्ने उनको भनाइ छ । अहिले बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा जाने कर्जा ३.५ प्रतिशतले विस्तार भएको छ ।

पाँच महिनामा एक खर्ब ७८ अर्ब २९ करोड कर्जा प्रवाह भएको छ । गत आवको सोही अवधिमा यस्तो कर्जा एक खर्ब १० अर्ब एक करोड (२.३ प्रतिशत बढी) कर्जा प्रवाह भएको थियो ।

तरकारीमा ४३% मूल्यवृद्धि
चालू आर्थिक वर्ष ०८१÷८२ को पछिल्लो चार महिनायता (भदौयता) मूल्यवृद्धिदर (मुद्रास्फीति) चुलिँदै गइरहेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार कात्तिकको तुलनामा मंसिरमा मुद्रास्फीति थप चुलिएको हो । 

भदौमा ३.८६ प्रतिशत, असोजमा ४.८१ प्रतिशत, कात्तिकमा ५.६ प्रतिशत पुगेको मुद्रास्फीति मंसिरमा ६.०५ प्रतिशत कायम भएको छ । पाँच महिनाको औसत मुद्रास्फीति ४.८८ प्रतिशत छ । 

खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उपसमूहको उपभोक्ता मूल्य सूचकांक ४३.०५ प्रतिशत, दाल तथा गेडागुडीको १०.६६ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.७० प्रतिशत र घिउ तथा तेलको ९.३९ प्रतिशतले बढेको छ । मरमसला उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १.१८ प्रतिशत र चिनी तथा चिनीजन्य पदार्थको ०.८३ प्रतिशतले घटेको छ ।

गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ७.९८ प्रतिशत, मदिराजन्य पेय पदार्थको ७.०१ प्रतिशत, कपडाजन्य तथा जुत्ता–चप्पलको ६.७५ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणको ५.२९ प्रतिशतले बढेको छ । मंसिरमा ग्रामीण क्षेत्रको मूल्य सूचकांक ६.५२ प्रतिशतले बढेको छ भने सहरी क्षेत्रको मूल्य सूचकांक ५.८९ प्रतिशतले बढेको छ ।

प्रदेशगत रूपमा मंसिरमा कोशी प्रदेशको मुद्रास्फीति ७.३६ प्रतिशत छ । मधेश प्रदेशको ६.७७ प्रतिशत छ भने बागमती प्रदेशको ५.८४ प्रतिशत छ । गण्डकी प्रदेशको ४.८१ प्रतिशत, लुम्बिनी प्रदेशको ५.५३ प्रतिशत, कर्णाली प्रदेशको ४.१९ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ६.६६ प्रतिशत छ । यो महिनामा काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.८२ प्रतिशत, तराईको ६.३१ प्रतिशत, पहाडको ५.६५ प्रतिशत र हिमालको ६.५८ प्रतिशत छ ।

चालू खाता एक खर्ब ४० अर्ब ७१ करोडले बचतमा
लगातार बढिरहेको चालू खाता बचतमा ब्रेक लाग्न थालेको छ । पाँच महिनामा चालू खाता एक खर्ब ४० अर्ब ७१ करोडले बचतमा छ । गत आवको सोही अवधिमा चालू खाता एक खर्ब ४१ अर्ब तीन करोडले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब ६ करोडले बचतमा रहेको चालू खाता चालू आवको सोही अवधिमा एक अर्ब चार करोडले बचतमा छ । 

चालू आवको पाँच महिनामा कुल वस्तु आयात ३ प्रतिशतले वृद्धि भई ६ खर्ब ६१ अर्ब ४९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा ३.४ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने भारतबाट ४ प्रतिशत र चीनबाट ४.६ प्रतिशतले बढ्दा आयात वृद्धि भएको हो । 

आयात बढेसँगै निर्यात पनि बढेको छ । चालू आवको पाँच महिनामा कुल वस्तु निर्यात १६.५ प्रतिशतले बढेर ७३ अर्ब ६६ करोड पुगेको छ । गत आवको सोही अवधिमा यस्तो निर्यातमा ६.१ प्रतिशतले कमी आएको थियो । 

समीक्षा अवधिमा शोधनान्तर स्थिति दुई खर्ब २५ अर्ब ३४ करोडले बचतमा छ । गत आवको सोही अवधिमा शोधनान्तर स्थिति दुई खर्ब १६ अर्ब पाँच करोडले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब ६३ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा एक अर्ब ६७ करोडले बचतमा छ ।

०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ११.४ प्रतिशतले बढेको छ । मंसिर मसान्तमा २२ खर्ब ७३ अर्ब २६ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति ०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा मंसिर मसान्तमा ९.७ प्रतिशतले बढेर १६ अर्ब ७६ करोड पुगेको छ । विदेशी विनिमय सञ्चिति १७.६ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको केन्द्रीय बैंकले जानकारी दिएको छ ।

सेवा आय घाटा दोब्बरले बढ्यो
चालू आवको पाँच महिनामा खुद सेवा आय ४० अर्ब ७१ करोडले घाटामा देखिन्छ । गत आवको सोही अवधिमा खुद सेवा आय २६ अर्ब ५५ करोडले घाटामा थियो । सेवा खाताअन्तर्गतको भ्रमण आय ३.१ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा भ्रमण आय ३५ अर्ब १९ करोड पुगेको छ । गत आवको सोही अवधिमा यस्तो आय ३४ अर्ब १२ करोड थियो ।

समीक्षा अवधिमा सेवा खाताअन्तर्गत विदेश जाने नेपालीको भ्रमण खर्च १२.२ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा ८५ अर्ब एक करोडको भ्रमण खर्च भएको छ । यसमध्ये शिक्षाको अवसरमा बिदेसिने नेपालीको खर्च ४७ अर्ब ४१ करोड छ । गत आवको सोही अवधिमा भ्रमण खर्च ७५ अर्ब ७३ करोड रहेकोमा शिक्षातर्फको खर्च ४७ अर्ब ३४ करोड थियो ।

बाह्य क्षेत्रको सुविधा लामो समय कायम नरहने संकेत : डा. गुणाकर भट्ट, कार्यकारी निर्देशक, नेपाल राष्ट्र बैंक
कर्जा विस्तार धेरै हुन नसक्दा ब्याजदर अझै तल आएको छ । यो निजी क्षेत्रलाई लगानी गर्ने अवसर पनि हो । तर, अहिलेको बैंक तथा वित्तीय संस्थाको अधिक तरलता लामो समयसम्म कायम हुने देखिन्न । रेमिट्यान्सको वृद्धिदर घटेको र आयात बढेको छ । मुद्रास्फीति पनि बढेको छ । पाँच महिनाको तथ्यांकको प्रवृत्तिले निजी क्षेत्रले अहिले पाइरहेको सस्तो ब्याजदर र बैंक तथा वित्तीय संस्थाको अधिक तरलताको सुविधा लामो समय कायम नरहने जोखिम देखिन्छ । त्यसैले यो वेलैमा लगानी गरेर लाभ उठाउने समय हो ।

सुझावित समाचार