माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस–एमाले गठबन्धनको सरकारले दलाल र भ्रष्टको पक्षमा मात्र काम गरेको आरोप लगाएका छन् । प्रधानमन्त्री केपी ओलीको निर्वाचन क्षेत्र झापा गौरीगन्ज गाउँपालिकामा भएको पार्टीको दोस्रो गाउँ सम्मेलन तथा खबरदारी सभामा उनले यो सरकारले जनताको पक्षमा काम नगर्ने बताए । उनले भ्रष्टाचारी र दलाललाई बचाउन आफू नेतृत्वको सरकारलाई निरंकुश र अलोकतान्त्रिक ढंगले हटाएको बताए ।
‘तेस्रोपटक प्रधानमन्त्री हुँदा मैले भ्रष्टाचारी, दलालको भण्डाफोर गर्न थालेँ । सुशासनका पक्षमा काम गर्न थालेँ । पक्राउ परेकाको बयानले भ्रष्टाचारको सुई एमाले र कांग्रेसतिर सोझियो । राजनीतिक दलका नेतासमेत दायरामा आउने भए,’ उनले भने, ‘भ्रष्टाचार, दलाली, भूमाफियाको विरुद्धमा अभियान चलाएँ । जनताको हितमा काम गर्दा खैलाबैला मच्चियो । निरंकुश र अलोकतान्त्रिक ढंगले सरकारबाट हटाइयो ।’
प्रचण्डले संसद्मा रहेका पहिलो र दोस्रो राजनीतिक दल मिलेर सरकार बनाउनु लोकतान्त्रिक अभ्यासविरुद्ध भएको दाबी गरे । ‘संसद्को पहिलो र दोस्रो दल मिलेर सरकार बनाउने भन्ने कुरा लोकतन्त्रमा हुँदैन । लोकतन्त्रविरोधी कुरा हो,’ उनले भने, ‘असंवैधानिक जालझेल र अप्राकृतिक ढंगले सरकार बनाइयो । यो सरकारले जनताको पक्षमा होइन, भ्रष्टाचारी, दलाल र बिचौलियाको पक्षमा काम गर्छ ।’ प्रचण्डले प्रधानमन्त्री केपी ओलीले झालझेल मात्र गर्ने बताए । उनले गिरिबन्धु चियाबगानमा भएको भ्रष्टाचारविरुद्ध फाइल खोल्दा ओलीमा सोझिने भएकाले जालझेल गरेर आफू नेतृत्वको सरकार ढालेको आरोप लगाए । अहिलेको गठबन्धन सरकारले संविधान संशोधन गर्ने भनेर जनताले पाएको अधिकार खोस्ने प्रयास गरेको बताए ।
प्रचण्डले माओवादी परिवर्तनको संवाहक भएकाले आगामी दिनमा सुशासनको पक्षमा काम गर्दै देशमा आर्थिक समृद्धि र विकास ल्याउने बताए । उनले ०८४ लाई ०६४ को अवस्थामा फर्काउँदै माओवादीलाई पहिलो पार्टी बनाएमा जनमतको तागतमा भ्रष्टाचारलाई जरैबाट उखेल्ने दाबी गरे । उनले नुवाकोटको शेरा दरबारको जग्गा प्रकरणमा माओवादी छाडेका व्यक्तिलाई जोडेर पार्टीको बदनाम गर्न खोजेको आरोप लगाए । झुटो प्रचार नगर्न पनि उनले आग्रह गरे । ‘भ्रष्टाचार गर्ने हाम्रै पार्टीको भए पनि कारबाही गर्नुपर्छ,’ उनले भने, ‘सेरा दरबारको जग्गा सरकारको नाममा ल्याउन प्रधानमन्त्रीलाई आग्रह गर्दछु । त्यसमा हाम्रो साथ रहन्छ ।’