गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दुई सय ६८ बौद्ध भिक्षु बोकेर चिनियाँ जहाज अवतरण भएको छ । लुम्बिनीस्थित मायादेवी मन्दिरमा दीप प्रज्ज्वलनका लागि बौद्ध धर्मगुरुहरू लिएर एयर चाइनाको विमान शुक्रबार भैरहवामा अवतरण भएको हो ।
चार्टर गरेर आएको विमान यात्रुहरूलाई छाडेर फिर्ता भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । चिनियाँ बौद्ध भिक्षुहरू हरेक वर्ष हुने कार्यक्रमअन्तर्गत लुम्बिनी आएका हुन् ।
शनिबार काठमाडौंबाट अन्य चिनियाँ भिक्षुहरू पनि लुम्बिनी आउने कार्यक्रम रहेको जनाइएको छ । उनीहरूलाई विमानस्थलमा नेपाल–चीन मैत्री समाजका पदाधिकारीले स्वागत गरेका थिए ।