ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई ३ प्रश्न

बिहिबार, २७ मंसिर, २०८१
डिजिटल संस्करण

अदालतको आदेशपछि फिर्ता भएको मदन स्मारक स्कुलको जग्गाको संरक्षण अब कसरी हुन्छ ?  
केही दिनअघिसम्म सो जग्गा हामीले छुन मिलेको थिएन । तर, अब सर्वोच्चको अन्तिम फैसला आएपछि हामी सो जग्गा संरक्षण गर्नसक्ने भएका छौँ । यस्ता कैयौँ ठाउँका सार्वजनिक जग्गा हामीले संरक्षण गरेका पनि छौँ । मदन स्मारक स्कुलको जग्गा लिज प्रक्रियाबारे अदालतले नै आदेश दिएसँगै संरक्षणको बाटो खुलेको छ । यद्यपि पूर्ण पाठ भने आउन बाँकी नै छ । अब त्यहाँको जग्गामा हामीले बालबालिका खेल्न र रमाउन मिल्ने हरियालीसहितको पार्क बनाउनेछौँ । 

यो जग्गामा पार्किङ स्पेस बनाउने विषय पनि उठिरहेको छ, यो उचित हो ? 
यो जग्गााको मुख्य प्रयोग त पार्क तथा हरियालीमै हुन्छ । हामी यसलाई खुला रूपमै राख्छौँ । विद्यालयकै नाममा जग्गा भए पनि त्यसको उचित संरक्षण र व्यवस्थापन गर्न महानगरपालिकाले पाउने भएकाले हामीले विद्यालयसँग समन्वय गरेरै यसको सदुपयोग गर्छौं । विद्यालयलाई शैक्षिक गतिविधि सञ्चालन गर्न समस्या भएमा यो जग्गा त्यसका निम्ति पनि प्रयोग हुन्छ । पार्क पनि विद्यार्थीलक्षित नै बन्ने भएकाले त्यसमा विद्यालयको असहमति होला जस्तो लाग्दैन । जहाँसम्म पार्किङ बनाउने विषय छ, यसमा हामी आवश्यकता हेरेर काम गर्न सक्छौँ ।

झन्डै १० रोपनी क्षेत्रफलको जग्गाको सरसफाइ कसरी गरिँदै छ ? 
यो जग्गालाई हामीले सफा र व्यवस्थित पार्छौं । विद्यालयसँगै जोडिएको जग्गा भएकाले यसलाई थप रमणीय बनाउन आवश्यक पनि छ । यसै वर्ष यसमा बगैँचा तथा खेलकुदका लागि आवश्यक ठाउँ बनाउने हाम्रो तयारी छ । यो विषय बजेटमा समेत समेटिएकाले पार्क तथा खेल्ने ठाउँ यसै वर्ष बन्छ । 

सुझावित समाचार