युद्धमा हालसम्म ४३ हजार युक्रेनी मारिएको जेलेन्स्कीको स्वीकारोक्ति

बुधबार, २६ मंसिर, २०८१
डिजिटल संस्करण

फेब्रुअरी २०२२ मा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेयता करिब ४३ हजार युक्रेनी सैनिक युद्ध मैदानमा मारिएका भोलोदिमिर जेलेन्स्कीले बताएका छन् । यो रुस–युक्रेन युद्धमा भएको हताहतीबारे कुनै पक्षबाट आएको दुर्लभ स्वीकारोक्ति हो । युक्रेनी राष्ट्रपतिले सामाजिक सञ्जाल ‘एक्स’मा एक पोस्ट गर्दै युद्धमैदानमा तीन लाख ७० हजार युक्रेनी घाइते भएको पनि जानकारी दिएका छन् । घाइतेको यो संख्यामा एकभन्दा बढीपटक घाइते भएका र सामान्य घाइते सैनिकको संख्यासमेत गणना भएको जेलेन्स्कीले बताए ।

‘पूर्णस्तरको युद्ध सुरु भएदेखि युक्रेनले युद्ध मैदानमा ४३ हजार सैनिक गुमाएको छ । त्यस्तै घाइतेको उपचारका लागि तीन लाख ७० हजार सहायता प्रदान गरिएको छ । यहाँ उल्लेख गर्नैपर्छ कि घाइते भएकामध्ये झन्डै आधा सैनिक पछि पुनः युद्धको मैदानमा फर्किए । साथै घाइतेको तथ्यांकमा सामान्य चोटपटक तथा दोहोर्याइएको चोटहरू पनि समावेश छन्,’ जेलेन्स्कीले एक्सको पोस्टमा लेखेका छन् । जेलेन्स्कीले आफ्नो पोस्टमा रुसतर्फ युक्रेनको तुलनामा ठुलो हताहती भएको दाबी पनि गर्न छुटाएनन् । युद्धमा करिब एक लाख ९८ हजार रुसी सैनिक मारिएको र पाँच लाख ५० हजार घाइते भएको उनले बताए । 

रुस र युक्रेनले जारी युद्धमा आफ्नो तर्फ भएको सैन्य हताहतीको संख्यालाई खासै खुलाउने गरेका छैनन् । तथापि विपक्षीको हताहतीको स्तर भने बढाइचढाइ गर्दै प्रस्तुत गर्ने गरिएका छन् । 

नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा युक्रेनले युद्धमा ‘चार लाख सैनिक गुमाएको’ दाबी गरेपछि जेलेन्स्की उनको तथ्यांक सार्वजनिक गर्न बाध्य भएजस्तो देखिन्छ । ट्रम्पले केहीअघि यस अनावश्यक युद्धमा ‘चार लाख युक्रेनी सैनिक र ६ लाख रुसी सैनिक मारिएको’ लेखेका थिए । ट्रम्पले सो तथ्यांक कहाँबाट लिए भन्ने खुलाएका छैनन् ।

नयाँ तथ्यांकले वर्षको सुरुदेखि युक्रेनी मृत्युमा वृद्धि भएको देखाउँछ । यसअघि फेब्रुअरीमा जेलेन्स्कीले युद्धमैदानमा ३१ हजार युक्रेनी सैनिक मारिएको बताएका थिए । पछिल्लो तथ्यांक रुसी सेनाले पूर्वी युक्रेनमा सफलता हासिल गर्दै कब्जा गरिएको भूमिको क्षेत्रफल बढाउँदै गएका समय आएको छ । 
 

सुझावित समाचार