काठमाडौं महानगरपालिकाले कान्ति बाल अस्पतालमा मोडुलर अप्रेसन थियटर निर्माण गरिदिने भएको छ । सोमबार (कात्तिक २६) महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं र अस्पतालका निर्देशक पंकज रायले निर्माण तथा उपकरण जडानसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।
आधारभूत र आकस्मिक स्वास्थ्य सेवालाई सरल, सहज, पारदर्शी र पहुँचयोग्य बनाउन आन्तरिक क्षमतासँगै अन्य सरकारी स्वास्थ्य सेवाको क्षमता बढाउन सहकार्य गरिएको हो। चालू आर्थिक वर्षमा कान्ति बाल अस्पतालसँगको सहकार्यका लागि पाँच करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ। महानगरवासीको सरल पहुँचमा स्वास्थ्य सेवा विस्तारसँगै समयसमयमा आउने विश्वव्यापी महामारीका जोखिमको प्रतिकार्य, रोकथाम र पुनर्स्थापनाका लागि समन्वयात्मक काम गर्नु सम्झौताको उद्देश्य हो।
सम्झौताबमोजिम अस्पतालले मोडुलर ओटी बनाउन लागतअनुमान तयार पार्नेछ। सम्झौतामा उल्लेख भएको पाँच करोड ५० लाख रुपैयाँभन्दा धेरै लागत आएमा त्यसको दायित्व अस्पतालकै हुनेछ। लागत र ड्रइङ डिजाइनका आधारमा खुला बोलपत्र आह्वान गर्ने, मूल्यांकन गर्ने, निर्माण पक्ष छनोट गर्ने र निर्माणकार्य गराउने दायित्व अस्पतालको हुनेछ।
महानगरपालिकाले प्रगतिका आधारमा बढीमा तीन किस्तामा सम्झौताबमोजिमको रकम उपलब्ध गराउनेछ । यसरी रकम उपलब्ध गराउँदा नेपाल सरकार वा अन्य निकायबाट प्राप्त रकमसँग दोहोरो नहुने सुनिश्चित गर्नेछ। यसरी उपलब्ध गराएको रकमबाट निर्माण हुने संरचनाको अनुगमन गर्नेछ।
अस्पतालले आयोजनाको पारदर्शिताका लागि सूचना बोर्ड राख्नुपर्नेछ । निर्माणका लागि अन्य निकायबाट अनुदान वा सहयोग रकम उपलब्ध भएमा त्यसको विवरण महानगरपालिकामा बुझाउनुपर्नेछ। प्रचलित पद्धतिको पालना गरेर बेरुजु नहुने गरी काम गर्नुपर्नेछ । यसबाट कुनै प्रकारको बेरुजु देखिए यसलाई फर्स्याेट गर्ने दायित्व अस्पतालकै हुनेछ । यस्तै, अन्तिम लेखापरीक्षण गराएर रकम उपयोगलाई चुस्त बनाउनुपर्नेछ। निर्माण तथा उपकरण जडान कार्य ०८२ जेठ मसान्तभित्र सम्पन्न गर्नुपर्नेछ ।
हस्ताक्षरपछि संक्षिप्त प्रतिक्रिया दिँदै प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले, महानगरवासीप्रति महानगरपालिकाले पूरा गर्नुपर्ने स्वास्थ्य सेवाको पहुँचसम्बन्धी दायित्व पूरा गरिएको बताए। यस्तै, स्वास्थ्य सल्लाहकार डा. जगदीश अग्रवालले बाल रोगको उपचारका लागि महानगरवासीले विशेष सहुलियत प्राप्त गर्ने अपेक्षा व्यक्त गरे ।