जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप २९) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति रामचन्द्र पौडेल सोमबार अजरबैजानको बाकु पुगेका छन् । उनी कतारको राजधानी दोहा हुँदै अजरबैजान गएका हुन् । उनले संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेर्रेससँग संक्षिप्त भेट गरेका छन् ।
अजरबैजानको बाकु सहरमा सोमबार सुरु भएको सम्मेलन ७ मंसिरसम्म चल्नेछ । राष्ट्रपति नेतृत्वको प्रतिनिधिमण्डलमा वनमन्त्री ऐनबहादुर शाहीलगायत नेपाली अधिकारीहरू सहभागी छन् । अजरबैजानमा राष्ट्रपति पौडेलले समकक्षी इहाम हेइदर ओग्लु अलिभेभसँग द्विपक्षीय भेट गर्ने कार्यक्रम छ । उनकै निमन्त्रणामा राष्ट्रपति पौडेल बाकु गएका हुन् । राष्ट्रपति कार्यालय स्रोतका अनुसार राष्ट्रपति पौडेल र मालदिभ्सका राष्ट्रपति मोहम्मद मोइज्जुबिच पनि साइडलाइन भेटवार्ता हुनेछ ।
राष्ट्रसंघीय महासचिव गुटेर्रेससँग राष्ट्रपति पौडेलले जलवायु परिवर्तनबाट उत्पन्न समस्याबारे संक्षिप्त कुरा भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । हिमाल, पृथ्वी र मानवसमुदाय रक्षाका लागि सबै पक्ष जुट्नुपर्नेमा राष्ट्रपतिको जोड थियो । राष्ट्रपति कार्यालयका जलवायु तथा वातावरणविज्ञ, परराष्ट्र एवं वन तथा वातावरण मन्त्रालयका अधिकारी सम्मेलनमा सहभागी छन् । राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुनीलबहादुर थापाका अनुसार सम्मेलनको मुख्य सत्रमा राष्ट्रपति पौडेलले सम्बोधन गर्ने कार्यक्रम छ । राष्ट्रपति पौडेलले हिमाल र जलवायु परिवर्तन तथा जलवायु न्यायका विषयमा धारणा राख्नेछन् ।