राष्ट्रपति रामचन्द्र पौडेलले सर्वाेच्च अदालतको न्यायाधीशमा नृपध्वज निरौला र नित्यानन्द पाण्डेयलाई नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले संविधानको धारा १२९(२) बमोजिम न्यायपरिषद्को सिफारिसमा निरौला र पाण्डेयलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्ति गरेका हुन् । नियुक्तिसँगै दुवै न्यायाधीशले सोमबार पदबहाली गर्नेछन् ।
न्यायपरिषद्ले ११ असोजमा उच्च अदालत पाटनका मुख्य न्यायाधीश निरौला र उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश पाण्डेयलाई सर्वाेच्चको न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गरेको थियो । संसदीय सुनुवाइ समितिले न्यायाधीशद्वय निरौला र पाण्डेयको सुनुवाइ प्रक्रिया सम्पन्न गरी शुक्रबार सर्वसम्मत अनुमोदन गरेको थियो ।
निरौला ६ पुस २०९३ देखि २४ माघ ०९३ सम्म डेढ महिनासम्म प्रधानन्यायाधीश हुने रोलक्रममा छन् । पाण्डेय १४ फागुन २०८७ सम्म सर्वाेच्चको न्यायाधीश रहनेछन् । निरौला र पाण्डेयको नियुक्तिपछि सर्वाेच्चमा अब चार न्यायाधीशको पद रिक्त छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले चीन र अमेरिकाका लागि नेपाली राजदूत नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले संविधानको धारा २८२(१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आइतबार प्राडा कृष्णप्रसाद ओलीलाई चीनका लागि र लोकदर्शन रेग्मीलाई अमेरिकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले बताइन् । राष्ट्रपति पौडेलले यसअघि मन्त्रिपरिषद्को सिफारिसमा कतारका लागि रमेशचन्द्र पौडेल र इजरायलका लागि धनप्रसाद पण्डितलाई राजदूत पदमा नियुक्त गरेका थिए ।