७२ अर्बबराबरका पाँच आयोजनाको तयारी फास्ट ट्रयाकमा गरिने

बिहिबार, २२ कार्तिक, २०८१
डिजिटल संस्करण

विश्व बैंकको सहयोगमा नेपालमा सञ्चालन गरिने करिब ७२ अर्ब रुपैयाँ बराबरका पाँचवटा आयोजनाको तयारी फास्ट ट्रयाकमा गरिने भएको छ । अर्थ मन्त्रालयमा बसेको बैठकले पूर्व–पश्चिम राजमार्गको बागमती–पथलैया खण्ड विस्तार, तेस्रो पुल तथा सुधार तथा सम्भार, विद्युत् वितरण प्रणाली आधुनिकीकरण तथा सुधारको आयोजनाको पूर्वतयारी छिटो सम्पन्न गर्ने निर्णय गरेको हो । 

यसैगरी, तेस्रो चरणको रानीजमरा कुलरिया सिँचाइ र पहुँच तथा उत्थानशीलताका लागि डिजिटल सेवा रूपान्तरणसम्बन्धी आयोजनाको तयारी पनि फास्ट ट्रयाकमा गर्ने निर्णय भएको छ । विश्व बैंकको सहुलियतपूर्ण ऋण लगानीमा सञ्चालित हुने आयोजनाको सम्बन्धित मन्त्रालयले सरोकारवालासँग छलफल गरी पूर्वतयारी गर्नेछन्, भने आवश्यकताअनुसार अर्थ मन्त्रालयले सहजीकरण गर्नेछ ।

बैठकले सन् २०२५ को फेब्रुअरीसम्ममा आयोजनासँग सम्बन्धित सबै विषयको टुंगो लगाई पूर्वतयारीको काम सक्ने निर्णय भएको छ । तयारी पूरा भएपछि सन् २०२५ को मार्चमा बस्ने विश्व बैंकको बोर्ड बैठकमा ती आयोजनाका प्रस्ताव पेस गरिने योजना छ । 

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आयोजनाको पूर्वतयारीमा विशेष ध्यान दिन र आयोजना स्वीकृत भएपछि कार्यान्वयनमा तदारुकताका साथ लाग्न निर्देशन दिए ।

उनले नेपालले आफ्नो आवश्यकताअनुसार सहयोग लिने र अधिकतम प्रतिफल दिने ठाउँमा लगानी गर्ने बताए । बैठकमा अर्थ मन्त्रालय, भौतिक तथा यातायात मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रतिनिधि र सम्बद्ध पदाधिकारीको उपस्थिति थियो ।
 

See More On

सुझावित समाचार