लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तिहार पर्वले दिदीबहिनी तथा दाजुभाइबिचको आपसी स्नेहलाई गाढा बनाउने बताएका छन् । तिहारका अवसरमा आज दिएको शुभकामना सन्देशमा मुख्यमन्त्री आचार्यले तिहार मनाउने मौलिक सांस्कृतिक परम्पराले प्रकृति, मानव जीवन र प्राणी जगतको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्नुका साथै दिदीबहिनी तथा दाजुभाइबिचको आपसी स्नेहलाई गाढा बनाउने बताएका हुन् ।
उनले भनेका छन्, ‘तिहार पर्वले आपसी सदभाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै सामाजिक, सांस्कृतिक एकतालाई थप सुदृढ बनाउन मद्दत पुर्याउँछ ।’ तिहारमा खेलिने देउसीभैलो नेपाली संस्कृति भएकाले यसले सामाजिक एकतालाई प्रगाढ बनाउन मद्दत पुर्याउने बताउँदै उनले चाडपर्वमा देखापर्ने विकृति, विसंगतिको अन्त्य गर्दै सामूहिक हितका लागि गरिने कामलाई प्रोत्साहन गर्न जरुरी रहेकामा जोड दिए ।
‘तिहारलाई उज्यालो पर्वका रूपमा पनि लिने गरिन्छ । यसले सत्य र न्यायको पक्षमा उभिन प्रेरित गर्दछ। तिहारले मानव, प्रकृति र पशुपक्षीबिचको सन्तुलनलाई सम्मान गर्छ । यसप्रकारका प्रयासले सामाजिक एकता, पर्यावरण संरक्षण र दिगो विकासको पक्षलाई बलियो बनाउन मद्दत गर्दछ,’ शुभकामना सन्देशमा भनिएको छ, ‘कृषि, पशुपालन, आर्थिक उपार्जन, उद्यम विकासलगायतसँग हाम्रा मौलिक र सांस्कृतिक पर्वहरूको सम्बन्ध गाँसिएका हुन्छन् ।’
मुख्यमन्त्री आचार्यले ‘समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश’को प्रमुख आकांक्षा पूरा गर्न प्रदेश सरकारले कृषि र पशुपालनको क्षेत्रलाई प्राथमिकतामा राखेर कार्यक्रम बनाएको बताए । ‘हाम्रा परम्पराहरू समाज विकाससँग जोडिएका छन् । चाडपर्वका मूल्यमान्यताहरू अनुशासनसँग जोडिएका छन् । प्रदेश सरकारले समाज रूपान्तरण, समाज परिवर्तनका क्षेत्रमा नवीनतम अभ्यासहरूलाई प्रोत्साहन गर्दै आएको छ,’ शुभकामना सन्देशमा भनिएको छ, ‘चाडपर्वमा देखापर्ने विकृति, विसंगतिको अन्त्य गर्दै सामूहिक हितका लागि गरिने कामहरूलाई प्रोत्साहन गर्न जरुरी छ ।’