स्थानीय तहको उपनिर्वाचन नजिकिँदै गर्दा जाजरकोटका राजनीतिक दलका नेताहरू गाउँकेन्द्रित हुन थालेका छन्। ०७९ को चुनावदेखि निर्वाचन क्षेत्र नगएका नेताहरू उपनिर्वाचन नजिकिँदै गर्दा गाउँगाउँमा जान थालेका हुन्। नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत अन्य साना दलहरू पनि यति वेला जाजरकोटको नलगाड नगरपालिका र कुसे गाउँपालिकाका मतदाता रिझाउन सक्रिय भएका छन्।
जिल्लामा क्रियाशील राजनीतिक दलहरू अहिले नलगाड नगरपालिकाका हरेक गाउँमा कार्यकर्ता प्रशिक्षणमा जुटेका छन्। दलका नेतृत्व तह बिहान–बेलुकीको समयमा मतदाताको घरदैलोमा पुगेर प्रचार–प्रसार गर्न थालेका हुन्। निर्वाचनताका मात्र गाउँ जाने दलहरूलाई स्थानीयले आक्रोश पोखिरहेका छन्। संघीय सरकारका सत्तासाझेदार दलले आ–आफ्नै ढंगले पार्टीका गतिविधि अगाडि बढाएका छन्। प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले वडा तहमै भेला र बैठक गरिरहेको छ। निर्वाचनपछि राजधानीकेन्द्रित भएका दलहरू चुनाव नजिक आएको मौका छोपी जिल्लाकेन्द्रित भएका हुन्।
माओवादी केन्द्रले चुनावलाई आफ्नो पक्षमा परिणाम ल्याउन शक्तिबहादुर बस्नेतलाई नलगाड पुर्याएको थियो। राजधानी बसेर जाजरकोटको राजनीतिमा प्रभाव कायम राखेका बस्नेतलाई उपनिर्वाचनमा नलगाड ल्याएर पहिलोपटक कार्यक्रम गरिएको हो।
सत्तागठबन्धनका दलहरू गठबन्धन गरेर अगाडि बढ्ने विषयमा समेत छलफल गरिरहेका छन्। तर, गाउँमा अहिले आ–आफ्नै ढंगले चुनावी अभियान केन्द्रित भएको नेकपा एमाले जाजरकोटका सचिव गोपाल नेपालीले बताए। ‘निर्वाचनको विषयमा सत्तारूढ नेपाली कांग्रेससँग भेटघाटलाई तीव्रता दिँदै आएका छौँ,’ सचिव नेपालीले भने, ‘निर्वाचनमा नेकपा एमाले जनताको मन जित्ने गरी अहिले गाउँ, वडादेखि टोलसम्मै पार्टीका गतिविधि बढाइरहेका छौँ।’ उनका अनुसार टोलमै पुगेर निर्वाचनलक्षित समिति गठन गर्दै चुनावी अभियानलाई तीव्रता दिने काम भइरहेको छ।
नेकपा माओवादी केन्द्रले तिहारलगत्तै निर्वाचनका कार्यक्रम अघि बढाउने जनाएको छ। माओवादी जाजरकोट जिल्ला इन्चार्ज गगनबहादुर खड्काका अनुसार कात्तिक अन्तिमदेखि औपचारिक निर्वाचन प्रचारप्रसारका काम अघि बढाउने तयारी छ। उनले भने, ‘गाउँमा कार्यकर्ता तथा मतदाता भेटघाटलाई तीव्र पारिएको छ। हरेक मतदाताको दैलोमा पुग्ने पार्टीको रणनीति छ।’ नलगाड नगरपालिका र कुसे गाउँपालिकामा उपनिर्वाचनलाई लक्षित गरी माओवादी केन्द्रले जिल्ला समन्वय समितिको बैठक बसालेर एक चरण गाउँसम्म पुगिसकेको खड्काले जानकारी दिए। पहिलो चरणमा आममतदाताको अवस्था बुझ्ने काम भएको भन्दै उनले पछिल्लो राजनीतिक घटनाक्रमबारे माओवादी केन्द्रको धारणा समेत तल्लो कमिटीसम्म पुर्याउने काम भइरहेको उल्लेख गरे।
एमालेले जिल्ला कमिटी बैठक सकेर उपनिर्वाचनका लागि जिल्लाको नलगाड नगरपालिकाका वडामा पुगेको एमाले जाजरकोटका अध्यक्ष नरेन्द्रकुमार शाहीले बताए। ‘स्थानीय तहको उपनिर्वाचनको मिति तोकेलगत्तै उत्साहित बनेको एमाले र निर्वाचित जनप्रतिनिधि अहिले गाउँमा भेला, बैठक तथा संगठन विस्तार अभियानमा लागिपरेका छन्,’ उनले भने, ‘अहिले एमाले कसरी आफू उपनिर्वाचनमा विजयी हुने भन्ने रणनीतिक योजनाका साथ गाउँ पसेको छ। जिल्लाका सात स्थानीय तहको अधिवेशन सकेर एमाले गाउँ गाउँमा पुगेको हो।’ एमाले जाजरकोटले नलगाड नगरपालिकामा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यमलाल कँडेललाई समेत पार्टीको कार्यक्रममा सहभागी गराएको थियो।
यता नेपाली कांग्रेस जाजरकोटले ‘घरघर जाऔँ, नेपाली कांग्रेस जिताऔँ’ भन्ने अभियानलाई घरदैलोसम्म पुर्याएको छ। नेपाली कांग्रेसका नेताहरू यतिवेला नलगाड नगरपालिकाको घरदैलोमा पुगेर जनतालाई कांग्रेसमा उत्साहित बनाउन थालेको कांग्रेस जाजरकोटका कार्यवाहक सभापति खडक बिसीले बताए। उपनिर्वाचन नजिकिँदै गर्दा नेता जनप्रतिनिधिहरू पनि चुनावी गृहकार्यमा जुट्न लागिसकेको उनले बताए। गाउँमा रहेको वडादेखि पालिकासम्मका जनप्रतिनिधिहरू पार्टीको चुनावी गृहकार्यमा जुटिसकेका छन्,’ उनले भने, ‘पार्टीको निर्देशअनुसार सबै जनप्रतिनिधिदेखि नेता तथा कार्यकर्तासम्म चुनावी माहोल बनाउन लागेका छन्।’ अहिले गाउँका चियापसलदेखि चोक–चौतारासम्म आगामी मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनकै चर्चा–परिचर्चा चलिरहेको छ।