राष्ट्रिय स्वतन्त्र पार्टीले राजनीतिक प्रतिशोध र अधिनायकवादविरुद्ध मंगलबार बृहत् प्रदर्शन गर्दै छ । बालुवाटारस्थित नेपाल हाउसमा भेला भएर रास्वपाका नेता, कार्यकर्ता र शुभेच्छुकले सभापति रवि लामिछानेको गिरफ्तारीको विरोधमा बृहत् प्रदर्शन गर्न लागेका हुन् ।
कार्यवाहक प्रवक्ता मनीष झाले ‘अधिनायकवादी दुईतिहाइ सरकारको राजनीतिक प्रतिशोध र दम्भको स्रोत खोज्न बालुवाटार जाऔँ’ भन्ने नारासहित दिउँसो १२ बजे भेला भएर बृहत् प्रदर्शन गर्ने कार्यक्रम रहेको बताए । लामिछानेलाई राजनीतिक प्रतिशोधका लागि हिरासतमा राखेको र अनुसन्धानको नाममा थुन्ने र मानसिक दबाब दिने षड्यन्त्र देखिएको भन्दै रास्वपाले सरकारसँग अविलम्ब राजनीतिक प्रतिशोध त्यागी रिहाइको माग गर्दै आएको छ ।
‘अधिनायकवादी दुईतिहाइ सरकारको राजनीतिक प्रतिशोध र दम्भको स्रोत खोज्न बालुवाटार जाऔँ’ भन्ने नारासहित दिउँसो १२ बजे भेला भएर बृहत् प्रदर्शन गर्ने कार्यक्रम रहेको छ
राजनीतिक प्रतिशोध, भ्रष्टाचार र बेथितिविरुद्ध एवं सहकारीको पीडितको ८८ अर्ब फिर्तासहितको न्यायका लागि निरन्तर आन्दोलन गर्ने केन्द्रीय समितिको निर्णयअनुसार बृहत् प्रदर्शन गर्न लागिएको झाले बताए । ‘हाम्रो आन्दोलन सहभागितामूलक हुन्छ । उग्रता, विध्वंश र हिंसा हुँदैन । न प्रहरी चाहिन्छ । न प्रदर्शनकारी हुन्छ । सहभागीहरू हुन्छन्,’ उनले भने, ‘न्याय, सुशासन, संविधानका लागि लड्दै गर्दा सबैको साथ र सहयोग चाहिन्छ ।’
झाले प्रदर्शन गर्दैमा अदालतलाई प्रभाव पारेको भन्न नमिल्ने बताए । ‘अदालतमा मुद्दा प्रवेश नै नगरेकाले प्रभाव पर्छ भन्ने कुरा तर्कसंगत छैन,’ उनले भने । न्यायसंगत रूपमा पक्राउपुर्जी जारी हुँदा कोही लुकिछिपी गर्दा बसेको त कोही राजनीतिक संरक्षणमा गिरफ्तारी नै नभएको भन्दै झाले संसद्को चौथो दलको नेतालाई गिरफ्तारी गर्नु, बयान लम्ब्याउनु, थुप्रै मुद्दामा अभियोग लगाउनुले प्रस्ट रूपमा प्रतिशोध देखिएको बताए ।
‘नेपालको अदालत त्यति कमजोर पनि छैन कि चार–पाँच सय मान्छे उभिँदै गर्दा प्रभावित होस्,’ उनले भने, ‘अभियोग लागेको, प्रमाण नै बाहिर आएको मान्छे हिरासतबाहिर छ । प्रमाण नै नभएकोलाई हिरासतमा राखिएको छ । कि त सबैलाई भित्र राख्नुपर्यो कि बाहिरैबाट लड्न दिनुपर्यो । प्रतिशोधकै विरोधमा हामी आन्दोलनमा छौँ । विभिन्न चरणको आन्दोलनको तयारीमा पनि छौँ ।’
कावा प्रवक्ता झाले ११ दिनको हिरासतमा ११ घण्टा पनि बयान नलिनुले सरकारको नियत प्रस्ट भएको दोहोर्याए । ‘हिरासतमा राखेर बयान नलिने, म्याद थप्ने, अल्झाउने, बल्झाउने, समय लिने, अरू केमा फसाउन सकिन्छ भनेर षड्यन्त्र गर्ने काम सरकारले गरिरहेको छ । त्यसविरुद्ध हाम्रो आन्दोलन हो,’ उनले भने । झाका अनुसार बालुवाटारमा आयोजित प्रदर्शनमा रास्वपाका प्रमुख नेताहरूले बोल्ने कार्यक्रम छ ।
सहकारी ठगी प्रकरणमा २ कात्तिकमा पार्टी केन्द्रीय कार्यालय वनस्थलीबाट पक्राउ गरेर लामिछानेलाई कास्की लगेपछि रास्वपाका नेता कार्यकर्ताले पोखरामा प्रदर्शन थालेका थिए । प्रदर्शनकै क्रममा लामिछानेलाई बिहीबार दोस्रोपटक सात दिनका लागि म्याद थपिएपछि रास्वपाले शुक्रबारदेखि काठमाडौंकेन्द्रित आन्दोलन गरिरहेको छ ।
‘अधिनायकवादी दुईतिहाइ सरकारको राजनीतिक प्रतिशोध र दम्भको स्रोत खोज्न बालुवाटार जाऔँ’ भन्ने नारासहित दिउँसो १२ बजे भेला भएर बृहत् प्रदर्शन गर्ने कार्यक्रम रहेको छ