दशरथ रंगशालामा क्षमताभन्दा बढी दर्शक

सोमबार, १२ कार्तिक, २०८१
डिजिटल संस्करण

दशरथ रंगशालाको क्षमता १३ हजार दर्शक हो । सातौँ साफ च्याम्पियनसिपको दोस्रो सेमिफाइनलमा नेपाल र भारतबिचको खेलमा दर्शकले रेकर्ड नै राख्यो । सेमिफाइनल खेल आइतबार साँझ ६:३० बजे थियो । तर, ५:३० बजेभित्र नै रंगशाला लगभग भरियो ।

टिकट काटेर आएका दर्शक मध्यान्तरसम्म रंगशालाभित्र प्रवेश गरिरहेका थिए । भिआइपीदेखि साधारण प्यारापिटसम्म दर्शकको उपस्थितले पाइला टेक्ने स्थानै थिएन । साधारण प्यारपिट फुल हाउस हुँदा सेक्युरिटी गार्डले मिडिया बक्स प्रवेश गर्ने क्षेत्रबाट दर्शकलाई भित्र प्रवेश गराएका थिए । मिडिया बक्समा भिआइपी पास र साधारण टिकट बोकेका दर्शक जबर्जस्ती बसे । सिट नहुँदा पश्चिमतिरको प्यारापिटमा दर्शक उभिएरै खेल हेर्न बाध्य भए । क्षमताभन्दा बढी दर्शक रंगशालामा भरिएपछि खेल सुरु भएदेखि मध्यान्तरपछि एन्फाका पदाधिकारी टिकट बिक्री गरेको कम्पनी र सेक्युरिटीका नाइकेको खोजी गर्न व्यस्त रहे । 

एन्फाका पदाधिकारीकै अनुसार रंगशालामा सेमिफाइनल खेल हेर्न कम्तीमा १७ हजार दर्शक थिए । ‘खोइ सुरक्षाकर्मी र टिकट बिक्री गरेका कम्पनीका व्यक्तिहरू कहाँ छन् ?’ एन्फाका पदाधिकारी भने, ‘लगभग तीनदेखि चार हजारभन्दा बढी टिकट बिक्री भएको देखिन्छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रतियोगिताका लागि टिकट बिक्री गर्न माउन्ट एभरेस्ट स्पोर्ट एन्ड इभेन्ट प्रालिसँग सम्झौता गरेको थियो । माउन्ट एभरेस्टले डिजिटल वालेट खल्ती एपबाट र खुला टिकट बिक्री गरेको हो । 

रंगशालाबाहिर दुई हजारभन्दा बढी टिकट काटेका दर्शक भित्र छिर्न नै पाएनन् । टिकट पाएर पनि भित्र छिर्न नपाएका दर्शकलाई सुरक्षाकर्मीले सम्झाउँदै यस्तो भनिरहेका थिए, ‘तपाईंहरू सुरक्षित रूपमा घर फर्कनुस् । भोलि एन्फाले टिकट रकम फिर्ता दिनेछ ।’ यद्यपि, ती दर्शक हातमा टिकट देखाउँदै भित्र जान पाउनुपर्ने भनी दबाब दिइरहेका थिए । 

‘रंगशालाभित्र पाइला टेक्ने ठाउँ छैन, यहाँ दुर्घटना पनि हुन सक्छ, कृपया तपाईंहरू आज घर फर्कनुस्,’ रंगशालाको मुख्य गेटका सुरक्षाकर्मीले भन्दै थिए । रंगशाला परिसरभित्र एन्फाका प्रवक्ता सुरेश शाहलगायत अन्य पदाधिकारी भने सेक्युरिटी गार्डका संयोजक तथा टिकट बिक्री गर्ने कम्पनीका व्यक्तिसँग वार्ताको प्रयासमा थिए । ‘तपाईंहरूले आज कति टिकट बिक्री गर्नुभएको हो ? यहाँ क्षमताभन्दा बढी दर्शक देखियो,’ एन्फा एक उच्च अधिकारीले भिआइपी बक्सपछाडि राखेर टिकट विक्रेतालाई भनिरहेका थिए । त्यही वेला एन्फाका एक अधिकारीले सेक्युरिटी गार्डलाई भने, ‘यो कस्तो सुरक्षा व्यवस्था हो, जहाँ पायो त्यहीँबाट दर्शक प्रवेश गराउने ?’ प्रतियोगिताको सबै जिम्मेवारी वहन गरेको एन्फाका पदाधिकारी यो भद्रगोलको जिम्मेवारी लिन तयार देखिँदैनन् । यो कमजोरीको जिम्मेवारी टिकट बिक्री गर्ने कम्पनी र सेक्युरिटीले लिनुपर्ने एन्फा पदाधिकारीको मनसाय थियो । ‘हामीले सुरक्षा व्यवस्था र टिकट बिक्रीका लागि सम्झौता गरेका छौँ, उनीहरूले यसको जिम्मेवारी लिनुपर्छ,’ एन्फाका एक पदाधिकारीले भने । प्यारापिटमा नेपाल प्रहरीका सुरक्षाकर्मीले सुरक्षा दिएका थिए । तर, ती सुरक्षाकर्मी पनि खेलमै मस्त थिए । 

सुझावित समाचार