शनिबार दुई हजारभन्दा बढी स्वयंसेवक परिचालन गरी नदी सरसफाइ गरिने
बाढीका कारण नदी आसपास क्षेत्रमा फोहोर भएको भन्दै ललितपुर महानगरपालिकाले नदी क्षेत्रको फोहोरमैला सरसफाइ गर्ने भएको छ । महानगरले आगामी शनिबार दुई हजारभन्दा बढी स्वयंसेवक परिचालन गरी नदी सरसफाइ गर्ने भएको हो ।
सरसफाइ अभियानमा महानगरका मेयर चिरिबाबु महर्जन, उपमेयर मञ्जली शाक्य बज्राचार्य, प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठ, कर्मचारीलगायत नगर प्रहरीको पनि सहभागिता हुनेछन् । असोज दोस्रो साता आएको बाढीले खोलाहरूमा प्लास्टिक, कपडा र कागजजन्य फोहोर थुपारेको छ । ललितपुर महानगरले बाढीले बगाएर ल्याएको नक्खु र बागमती नदी किनाराकाे फोहोर सफा गर्नेछ ।
नदी किनारामा थुप्रिएका फोहाेरमैला सरसफाइसम्बन्धी सोमबार आयोजित तयारी बैठकमा ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनले बाढीले बगाएर ल्याएको फोहोर शनिबारदेखि उठाउन सुरु गरिने र सबैले साथ दिनुपर्ने बताए । ‘शनिबार बिहान ७ बजे तोकिएको ठाउँमा जम्मा होऔँ, हेर्दा नै लाज लाग्ने गरी छरपस्ट रूपमा रहेका प्लास्टिक, कागज र कपडा संकलन गरौँ,’ उनले भने, ‘सफा नभएसम्म गर्छौँ, असोज ११ र १२ गतेको बाढीले अन्यत्रबाट बगाएर ल्याएर प्लास्टिकलगायतका फोहोरले ललितपुर सहरको सौन्दर्य नै बिगारेको छ, नक्खु र बागमती नदीको किनारालाई प्लास्टिकले छपक्कै छोप्दा लुगा सुकाएजस्तो देखिएको छ ।’
फोहोर संकलन तथा सरसफाइ गर्न ज्यापू समाज ललितपुर, यल नेवाः समाज, जिल्ला बहुउद्देश्यीय संघ ललितपुर, सहकारी संघ ललितपुरलगायत अन्य जातीय संघसंस्थाले आफ्ना प्रतिनिधि ल्याउनेछन् । महानगरको सरसफाइ कार्यक्रममा नगर प्रहरी, कर्मचारी पनि सहभागी हुनेछन् । महानगरले सफाइ अभियानमा सहभागी हुन सबैलाई आह्वान गरेको छ ।
उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले बाढीले महानगरकोे सौन्दर्यमा ह्रास ल्याएको बताउँदै वातावरण संरक्षणको दायित्व सबैको भएको बताइन् । बाढीबाट कम प्रभावित वडाले बढी प्रभावितसँग हातेमालो गर्नुपर्ने आवश्यकता औँल्याउँदै सरसफाइको अभियान निरन्तर चल्ने प्रस्ट पारिन् ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी तुल्सीबहादुर श्रेष्ठले सरसफाइ अभियानमा जुट्न सबैलाई अनुरोध गरे । स्थलगत अनुगमनमा जाँदा सोचेभन्दा धेरै क्षति भएको अवस्था देखिएको बताए । महानगरका प्रवक्ता एवं वडा नम्बर ९ का अध्यक्ष राजु महर्जनका अनुसार नदीको किनारामा रहेका वडाहरू बाढीबाट धेरै प्रभावित भएका छन् । वडा नं. ५, ६, १२, १६, १५,१९, २० बाहेक अन्य वडा बाढीबाट प्रभावित छन् ।