नवलपुरमा पानीले धान भिज्यो, २० प्रतिशत उत्पादन घट्ने

सोमबार, ५ कार्तिक, २०८१
डिजिटल संस्करण

नवलपुरका विभिन्न स्थानमा तीन दिनदेखि लगातार छोटोछोटो ठुलो झरी भइरहेको छ। यो तीन दिनको झरीले काटेर राखेको धान खेतमै भिजेपछि नवलपुरका किसान चिन्तित भएका छन्।

पानीले कति क्षति भयो भन्ने विषयमा भने तथ्यांक आइनसकेको उनले बताए । उनले भने, ‘कहीँ–कतैबाट धान भिज्यो भनेर किसानले खबर गरेका छैनन् । पालिकाहरूले पनि खबर गरेका छैनन् । हामी दौडेर तथ्यांक संकलन गर्न सकिने अवस्था पनि छैन ।’  

कृषि ज्ञान केन्द्र नवलपुरका कार्यालय प्रमुख कुलप्रसाद तिवारीले यो पानीले नवलपुरमा १० देखि २० प्रतिशतसम्म धान उत्पादन घट्ने बताए । उनका अनुसार काटेर सुकाएको धान तथा पाकेर काट्न ठिक्क परेको दुवै धानलाई पानीले असर गरेको छ ।  

भिजेको धानलाई तत्काल झाँटेर सुकाउन सके धान कुहिन र उम्रिनबाट बचाउन सकिने तिवारीले बताए । त्यसैगरी भिजेको धानलाई तत्काल मिलमा लगेर कुटाए धान बिग्रनबाट जोगिन उनले किसानलाई सुझाव दिएका छन् । खेतमा धान त्यत्तिकै राखे वा तत्काल नझाँटे धान उम्रन सक्ने उनले बताए । बोटमै पाकेको धान पनि तीन दिन लगातार पानीले भिजेपछि बोटमै पनि उम्रन सक्ने उनले बताए । 

तिवारीले भने, ‘हाई टेम्प्रेचर छ । पानीले भिज्ने र घाम पर्ने भइरहने भयाे भने धान खेतमै राखिराखे बाेटमै उम्रन्छ, त्यसैले जस्तो छ त्यस्तो अवस्थामा स्याहारेर मिलमा कुटाइहाल्नु उपयुक्त हुन्छ।’ किसानले वर्षभरि खान पुग्ने गरी गरेको धानखेती स्याहार्ने वेलामा पानीले भिजेपछि किसान चिन्तित बनेका छन् । गत वर्ष पनि नवलपुरमा धान स्याहार्ने वेलामा पानी परेर किसानलाई क्षति पुर्याएको थियो । 

नवलपुरमा १८ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गर्दछ । असोज ११ र १२ गते आएको पानीले पनि धानमा क्षति पुर्याएको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख तिवारीले बताए ।

See More On

सुझावित समाचार