‘माओवादी एकताबद्ध भए ०६४ को नतिजा दोहोरिन्छ’

आइतबार, ४ कार्तिक, २०८१
डिजिटल संस्करण

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादी एकताबद्ध गराई ०६४ को जस्तै परिणाम ल्याउने बताएका छन् । चितवनमा बेपत्ता योद्धा दण्डपाणि न्यौपाने स्मृति भवन निर्माणार्थ शनिबार आयोजित बृहत् जनसांस्कृतिक कार्यक्रममा उनीहरूले यस्ता कार्यक्रमले सहिद तथा बेपत्ताहरूको सपना पूरा गर्ने नयाँ संकल्प र प्रतिबद्धता व्यक्त गर्ने अवसर पनि मिलेको बताए ।

प्रचण्डले माओवादी आन्दोलनका नेताहरूलाई नयाँ ऊर्जा, नयाँ प्रेरणा, नयाँ संकल्पका लागि आधार तयार भएको बताउँदै भने, ‘मैले आफ्नो ठाउँबाट गर्नुपर्ने सबै काम ०८४ लाई ०६४ मा फर्काउन प्रतिनिधिसभामा विश्वासको मत लिँदै गर्दा पनि संकल्प गरेको छु । आफ्नोतर्फबाट पार्टी एकताका लागि सम्पूर्ण काम पूरा गर्नेछु । फेरि एकपटक नयाँ अभियान, नयाँ आन्दोलन र एकताका निम्ति ठुलो छाती लिएर जाने विश्वास व्यक्त गर्न चाहन्छु ।’ 

कुनै वेला विचारको हिसाबले सही सोच्दासोच्दै पनि व्यवहारमा कार्यान्वयन गर्ने क्रममा कमीकमजोरी भएको उनले बताए । तर, एउटै स्कुलिङबाट आएर अहिले विभिन्न भंगालोमा रहेका माओवादीहरू एकताबद्ध हुनैपर्ने उनको भनाइ थियो ।

‘अहिले हामी सबै एकताबद्ध भएर समाजवादी क्रान्तिको तयारीमा लाग्नुपर्ने वेला आएको छ । यसबाटै समाजवादको आधार तयार गर्न सकिनेछ,’ प्रचण्डले भने ।

विप्लवले जनताको जीवन बदल्ने अभिभारा अब माओवादीले मात्रै पूरा गर्न सक्ने भन्दै त्यसका लागि क्रान्तिकारीहरूको एकता आवश्यक रहेको बताए । माओवादी नेतृ पम्फा भुसालले अब माओवादी र वामपन्थी एकताबाट समाजवादी आन्दोलन अघि बढाउनुपर्ने बताइन् ।

See More On

सुझावित समाचार