नेकपा एमालेका सांसद ऋषिकेश पोखरेलले स्वास्थ्य बिमाको सुविधा देशभरका जुनसुकै अस्पतालबाट लिन सक्ने व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
बुधबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा पोखरेलले स्थानीय तहका स्वास्थ्य केन्द्रहरूमा रिफर लिने बिरामीको भिड लाग्ने गरेको उल्लेख गर्दैै स्वास्थ्य बिमाको अहिलेको व्यवस्था नागरिकलाई ठुलो दण्ड भएको बताए।
‘आज पनि तपाईं हरेक पालिकाको नगर वा स्वास्थ्य केन्द्रमा जानुभयो भने मेरो उपचार यहाँ भएन रिफर गरिदिनुपर्याे भनेर सयौँ बिरामी लाइन बसेको देखिन्छ । एम्बुलेन्समा बिरामीलाई अगाडि राखेर रिफरका निम्ति लाइन लागेको देखिन्छ । रोगीका निम्ति, गरिबका निम्ति, कमजोरका निम्ति योभन्दा ठुलो दण्ड अरू केही पनि हुँदैन,’ उनले भने।
स्वास्थ्य बिमाको अहिलेको पद्धतिले सेवाग्राहीलाई पीडा दिएको भन्दै पोखरेलले थपे, ‘यदि मसँग स्वास्थ्य बिमा कार्ड छ भने नेपालका सबै स्वास्थ्य केन्द्रमा मेरो अनुकूलताअनुसार उपचार गर्न पाउने गरी व्यवस्था मिलाइदिन सभामुखमार्फत नेपाल सरकार र स्वास्थ्य मन्त्रालयलार्य आग्रह गर्दछु।’